काठमाडौं - नेपालमा कम्युनिष्ट पार्टीहरु फुट्नु र जुट्नु नयाँ घटना होइन । दर्जनौं पटक यहाँका वाम पार्टीहरु पुटेका छन् र एकता गरेका छन् । तर तिनको एकताले जनतामा कुनै आशा र उमङ्ग सिर्जना गरेको पाईंदैन । यतिबेला नेकपा माओवादी केन्द्र र नेकपा एसले पार्टी एकता गर्ने भनेर निर्णय गरिसकेको र एकताको खाका पनि बाहिर आइसकेको स्थितिमा फेरि वाम ध्रुविकरणको प्रभाव र असरबारे बहस अघि बढेको छ ।
सबैलाई ज्ञात भएको कुरा हो माओवादी केन्द्रले माओवादी विचार र दर्शनमा आधारित रहेर दस वर्षसम्म युद्ध गरेको हो । त्यसले नेपालीको परम्परागत राजनीतिमा निर्णायक प्रभाव पारेको पनि सत्य हो । तर उक्त पार्टीका सर्वोच्च नेता प्रचण्डले जुन विचारले आफू राजनीतिमा स्थािपत भए सो विचार पटक पटक परित्याग गरेका छन् । नारायणकाजीसँग एकता गर्दा प्रचण्डपथ छोडे । २०७४ मा केपी ओलीसँग एकता गर्दा माओवाद त्यागे । त्यति मात्र होइन आफैले आलोचना गर्दै आएको बहुदलीय जनवाद स्विकार्न पुगे । एमालेसँग अलग भएपछि पुनः माओवाद अंगालेका थिए । अहिले माधव नेपाल लगायतका दलसँग मिलेपछि फेरि माओवाद छोडेका छन् । त्यसैले माधव र प्रचण्डको मिलन एकता नभएर विसर्जन हो । नीति, कार्यक्रम, सैद्धान्तिक आधार, आधारभूत मूल्य मान्यता र विचार सबै छोडेकाले माओवादीले आफूलाई अर्को पार्टीसँग विलय गराएको जस्तो देखिन्छ भने एमालेबाट चोइटिएर गएको समाजवादी आधाउधी भएर माओवादीसँग भित्रिने भनेको विलय नै हो । यस अर्थमा यो एकता नभएर माक्र्सवादी विचारकै विसर्जन हो । कम्युनिष्ट आन्दोलनको पनि विसर्जन हो ।
अहिले एकतामा गएको भनिएका दुई पार्टीका ठुला नेता प्रचण्ड र माधव अस्थिर नेता हुन् । यिनीहरू अर्काको नेतृत्व स्वीकार गर्न नसक्ने र आफ्नो अनुकूलताका लागि जे पनि गर्ने नेताका रूपमा पर्छन् । यिनीहरूको विगतलाई हेर्ने हो भने दुवै पदबिना टिक्न नसक्ने नेतामा पर्दछन् । त्यसैले यो एकता पनि दिर्घकालीन हुने संभावना छैन । प्रचण्ड विगत ३७ वर्षदेखि पार्टी प्रमुख छन् । उनी साना दललाई मिलाएर वा पार्टीभित्र अन्तरविरोध सिर्जना गराएर आफू अध्यक्ष भैरहन्छन् । तर जति एकता गरे पनि प्रचण्डको पार्टीको मत हरेक निर्वाचनमा घट्दै गएको छ ।
२०६४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ झन्डै आधा सिट जितेको माओवादी टुटफुट र आन्तरिक किचलोका कारण २०७९ सम्म आइपुग्दा प्रत्यक्षतर्फ १८ जनामा खस्कियो, त्यो पनि गठबन्धन गरेर ।
२०६३/६४ बाट २०८२ सम्म आइपुग्दा माओवादी पार्टीमा धेरै ठुलो उथलपुथल आइसकेको छ । भारतसँग बङ्कर युद्ध लडेको माओवादी भारतकै लागि नेपालको एक नम्बरको कम्फर्टेबल पार्टी बन्नु, अमेरिकी साम्राज्यवादविरुद्धको युद्ध भनेर अमेरिकी परियोजना पास गराउन मुख्य भूमिकामा रहनु, राजा र राजतन्त्रविरुद्धको युद्ध भनिएकोमा अन्य दलहरूभन्दा राजतन्त्र ठीक भन्नु, बेबी किङको कुरा गर्नु, दस्तावेजमा काङ्ग्रेसलाई प्रधानशत्रु मान्ने तर निर्वाचन र सत्तामा काङ्ग्रेससँग सहकार्य गर्नुले सयौँ नेताले पार्टी छोडे, लाखौँ कार्यकर्ता कति निष्क्रिय भए, कतिले अन्य पार्टी रोजे ।
यसको प्रमुख कारण प्रचण्डको अस्थिर राजनीति हो । प्रचण्डले आफू नेतृत्व र सत्तामा रहनका लागि जे पनि र जोसुकैसँग पनि सम्झौता गरे । यसले प्रचण्डसँग विचार, सिद्धान्त र मूल्य मान्यताको खडेरी देखियो र नेता कार्यकर्ताले छोड्दै गए र टुक्रिँदै गए । मूलतः प्रचण्ड आफ्ना कार्यकर्तामा खेलिरहने र आफू नेतृत्वमा बसिरहने पात्र र प्रवृत्ति हो । भनिन्छ, प्रचण्ड कतै खेल्न सकेनन् भने बुहारी र छोरीहरूमा खेलेर राजनीतिक अभीष्ट पूरा गर्छन् रे । अहिले जनार्दन शर्मा, सुदन किरातीहरूलाई पाखा लगाइँदै छ । यसो भनौँ, माओवादीमा प्रचण्डको स्तुति नगर्नेले कि त पार्टी छोड्नुपर्छ कि त पेलिएर बस्नुपर्छ ।
प्रचण्डले आफू नेतृत्व र सत्तामा रहनका लागि जे पनि र जोसुकैसँग पनि सम्झौता गरे । यसले प्रचण्डसँग विचार, सिद्धान्त र मूल्य मान्यताको खडेरी देखियो र नेता कार्यकर्ताले छोड्दै गए र टुक्रिँदै गए । मूलतः प्रचण्ड आफ्ना कार्यकर्तामा खेलिरहने र आफू नेतृत्वमा बसिरहने पात्र र प्रवृत्ति हो ।
आफैं अस्थिर र नीति कार्यक्रमको ठेगान नभएका प्रचण्डबाट अब कुनै पनि पार्टीको नेतृत्व सहज रुपमा अघि बढ्ने संभावना छैन । निकट अतितको सबै लिगेसी छोडेर केवल आफ्नो पद बचाउन मात्र गरिएको एकताले कम्युनिष्ट आन्दोलनमा कुनै योगदान पुग्ने अवस्था पनि छैन । त्यसैले यो एकता नभएर आन्दोलनबाट भाग्ने विसर्जनवादी चिन्तनको उपज हो ।
प्रतिक्रिया