काठमाडौं - मुलभूत रुपमा माक्र्सवादले समाजको आर्थिक विश्लेषण गरेको छ । परिवर्तनको प्रक्रियामा उत्पादन सम्बन्ध र उत्पादन साधनको महत्वपूर्ण भूमिका हुने गर्दछ । कुन वर्गको स्वामित्वमा यी साधनहरु छन् भन्ने समाज विकासको चरणमा निर्णायक विषय हो । नेपालमा पनि कम्युनिष्टहरुले यो बहसलाई निकै लामो समयदेखि उठाइरहेका छन् ।
दर्जनौंको. संख्यामा रहेका नेपालका पार्टीहरु कम्युनिस्ट घोषणापत्रको आदर्शमा नै स्थापित भएका हुन । तर नेपाली कम्युनिस्ट पार्टीहरूले ऐतिहासिक संघर्ष र जनताको बलिदानीका बाबजुद जनअपेक्षा र वर्गीय मुक्तिको एजेन्डा सम्बोधन गर्न सकेका छैनन्।
सत्ता–स्वार्थ, संकीर्णता र अवसरवादमा फसेका यी पार्टीहरू बारम्बार टुटफुट, विघटन र असफलतामा अल्झिरहेका छन्। जनताको जीवनसँग प्रत्यक्ष जोडिएका शिक्षा, स्वास्थ्य, भूमिसुधार र सामाजिक न्यायका सवालमा स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम नहुँदा कम्युनिस्ट पार्टीहरू नामका मात्रै क्रान्तिकारी बनेका छन्।कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले सन् १८४८ मा लेखेको कम्युनिष्ट घोषणापत्रले पुँजीवादी व्यवस्थाले गरिब, श्रमजीवी र सर्वहारा वर्गमाथि गरेको चरम शोषण र दमनको अन्त्य गरी समाजवादी व्यवस्था स्थापना गर्न वर्ग–संघर्ष अनिवार्य भएको किटान गर्यो अर्थात् वर्ग–संघर्ष कम्युनिस्ट पार्टीको आधारभूत र अनिवार्य सिद्धान्त हो ।
समाजमा विद्यमान धनी र गरीबको खाडल पुर्न यो घोषणापत्रको उल्लेखनीय कार्य रहेको हुन्छ । समाजको पूँजीवादी आर्थिक ढाँचामा परिवर्तन ल्याई समाजवाद स्थापना गर्ने संसारका सबै कम्युनिष्टहरुको लक्ष्य रहेको हुन्छ । त्यसको लागि शान्तिपूर्ण वा सशस्त्र क्रान्तिद्वारा सत्ता क्रब्जा गर्न जरुरी हुन्छ । पार्टीको नेतृत्वमा सर्वहाराको सत्ता प्राप्त गर्ने उद्देश्यका साथ कम्युनिष्ट पार्टीहरुको स्थापना भएको हुन्छ ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना पुष्पलाल श्रेष्ठको अगुवाईमा भएको थियो । वि.सं. २००६ मा लिखित ‘नेपाल कम्युनिस्ट पार्टी’ को पहिलो घोषणापत्रले पनि निरङ्कुश सामन्तवादी अत्याचारको अन्त्य गर्दै मजदुर, किसानमाथि हुँदै आएको चरम शोषणको अन्त्य, जातजातिका आधारमा हुने भेदभावको अन्त्य, नागरिकका लागि पूर्ण प्रजातान्त्रिक अधिकारको सुनिश्चिततालाई कम्युनिस्ट पार्टीले अनिवार्य अवलम्बन गर्नुपर्ने विचारका रूपमा प्रस्तुत गरिएको थियो । जुन घोषणापत्र पुष्पलाल आफैले लेखेका थिए । ।
उक्त घोषणापत्रअनुसार कम्युनिस्ट पार्टी श्रमजीवी, उत्पीडित–शोषित जनताका पक्षमा दृढतापूर्वक संघर्ष गर्ने र वर्गीय शोषण–उत्पीडनको अन्त्य गर्ने राजनीतिक विचार र शक्तिको रुपमा स्थापित भयो । सिद्धान्ततः कम्युनिस्ट पार्टी नै समाजका सबै सामाजिक–राजनीतिक अन्तरविरोधलाई हल गर्ने, वर्गीय, जातजाति, भाषा, धर्म, लिङ्ग, संस्कृति आदिका आधारमा हुने सबै असमानता र विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने शक्ति हो ।
संसारभरि नै कम्युनिष्ट पार्टीहरु रक्षात्मक अवस्थामा रहँदा पनि नेपालमा भने यही विश्वासका साथ अहिलेसम्म पनि कम्युनिस्ट पार्टीलाई नेपाली जनताले साथ दिँदै आएका हुन् । २००७ को राणाविरोधी आन्दोलन होस् वा निरङ्कुश पञ्चायती व्यवस्थाविरोधी आन्दोलन वा तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा भएको ‘जनयुद्ध’ सबैमा जनताको उत्तिकै साथ समर्थन रह्यो । आन्दोलन, क्रान्ति र संघर्षमा मात्रै होइन, चुनावी राजनीतिमा पनि नेपाली जनताले कम्युनिस्ट पार्टीलाई साथ दिँदै आएका हुन् । तर, अधिकांश कम्युनिस्ट पार्टीहरू न त कम्युनिस्ट आदर्श र विचारअनुरूप सञ्चालित हुन सके न तिनले जनताका आशा र अपेक्षालाई नै सम्बोधन गर्ने प्रयत्न गरे ।
अन्नतः कम्युनिस्टहरू संकीर्णता, सत्ता–स्वार्थ र अवसरवादी दुष्चक्रमा फस्दै सयौं पटक टुटफुटको सिकार भएका छन् । जेन–जी विद्रोहले ल्याएको हलचलपछि पनि नेपालका कम्युनिस्ट पार्टीहरूमा तीव्र विघटन, फुट र एकताको शृङ्खला चलिरहेको छ । अझैं पनि दर्जनौंको संख्यामा रहेका कम्युनिष्ट पार्टीहरुले युवा पुस्ता र युगको मागलाई सम्बोधन गर्न चाहेका छैनन् । उनीहरु आफैं पनि कुहिरोको काग बनिरहेका छन् । उनीहरुले कम्युनिष्ट ह्यांग ओभर पनि फाल्न सकेका छैनन् भने पछिल्लो सामाजिक परिवर्तनको यात्रामा पनि सहभागी बन्न सकिरहेका छैनन् ।
प्रतिक्रिया