एनपिएल र अर्थतन्त्र

आइतबार, २८ मंसिर २०८२, १४ : २९

काठमाडौं - नेपाली खेल जनमानसमा आजभोली क्रिकेटको क्रेज बढेर गएको छ । गएको एक महिना नेपाली समाज क्रिकेटमय भयो । यस खेलको बारेमा बर्नाड साको टिप्पणी अहिले मेल खाएको देखिदैन । उनले क्रिकेटकोबारेमा भनेका थिए,‘मूर्खहरु खेल्छन् र महामूर्खहरु हेर्छन् ।’ तर आजभोली धेरै मानिसहरुको लोकप्रिय खेल बनेको छ क्रिकेट । 

एक महिना जतिको व्यापक चहलपहल र चर्चाबीच नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट हिजो सम्पन्न भएको छ । यो प्रतियोगिता नेपालका लागि एक खेल महोत्सवकै रूपमा स्थापित भएको छ । एनपिएलको यो दोस्रो संस्करण हो । भारतमा हुने आइपिएल हेरेर मनोरञ्जन लिँदै आएका नेपाली खेलप्रेमीका लागि एनपिएल एक अभूतपूर्व अवसर बनेको छ भने नेपाली खेल क्षेत्रका लागि यो एक अग्रगामी छलाङ । केही वर्षअघिसम्म नेपाली खेलाडीले विदेशमा हुने प्रतियोगितामा सहभागी हुनुलाई प्रतिष्ठाको विषय मानिन्थ्यो । आज नेपालमै विश्वका स्थापित खेलाडी ल्याएर प्रतिस्पर्धा गराउने मञ्च तयार भएको छ । देशभित्र र बाहिरका स्थापित खेलाडीबीच प्रतिस्पर्धा गराउने एनपिएल नेपाली खेल क्षेत्रको कोशेढुंगाका रूपमा स्थापित भएको छ । नेपालभित्रै विश्वस्तरीय खेल सम्भव छ भन्ने आत्मविश्वास जगाउने नेपाल क्रिकेट संघ (क्यान) र यसको नेतृत्वले नेपाली खेल क्षेत्रको विकासमा ऐतिहासिक योगदान दिएको छ । यति मात्र होइन एनपिएलले नेपालको अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ । यस्ता प्रतियोगिताहरु नियमित भैरहनु स्थानीय तथा समग्र अर्थतन्त्रका लागि अनुकूल वातावरण सिर्जना हुने गर्दछ । 

एनपिएलको अर्को महत्वपूर्ण पक्ष प्रादेशिक प्रतिस्पर्धा गराएर  संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यवहारमै संस्थागत गर्नु रहेको छ ।  हामीले नेपालमा चाहेको संघीयताको अभ्यास कस्तो हुनुपर्छ भन्ने उदाहरण एनपिएलले देखाएको छ । नेपालको संविधानले परिकल्पना गरेको सहकार्य, समन्वय र सहअस्तित्वमा आधारित संघीय प्रणालीको अभ्यास एनपिएल सञ्चालन प्रक्रियाबाट पुष्टि भएको छ । सबै प्रदेशको समन्वयमा प्रतियोगिता सम्पन्न गरिएको छ भने आर्थिक दायित्व सम्बन्धित प्रदेशहरूले नै व्यवस्थापन गरेका छन् । यस प्रक्रियाले प्रदेशस्तरमा खेलाडी उत्पादन र व्यवस्थापन क्षमताको विकासमा पनि योगदान पु¥याएको छ । एनपिएलको सफल सञ्चालनबाट संघीयताको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने पाठ राजनीतिक क्षेत्रले पनि सिक्न आवश्यक छ । साथै, खेल प्रतियोगिता जस्तै राज्य सञ्चालनमा पनि सरकारी र निजी क्षेत्रको साझेदारी अपरिहार्य हुन्छ भन्ने सन्देश यसले दिएको छ ।

आगामी दिनमा पनि एनपिएल खेल उत्सवका रूपमा स्मरणीय रहनेछ भने अन्तर्राष्ट्रियरूपमा नेपाल र नेपाली खेल क्षेत्रलाई चिनाउन पनि सहयोग गर्नेछ । पछिल्ला वर्षहरूमा नेपाली क्रिकेटले हात पारेका उपलब्धिमा यस्ता घरेलु प्रतियोगिताको ठूलो भूमिका छ । यस्ता प्रतियोगिताले खेलाडीलाई थप उत्प्रेरित गर्ने मात्र होइन, खेल पूर्वाधार विकासका लागि राज्यलाई जिम्मेवार बनाउने दबाब पनि सिर्जना गर्छन् । त्यसैले एनपिएलजस्ता प्रतियोगिताको मुख्य उद्देश्य देशभित्रै खेलाडी उत्पादनतर्फ केन्द्रित हुनुपर्छ । यसका लागि स्थानीयस्तरमा खेल संरचना निर्माण र नियमित प्रतियोगिता आयोजना गर्न सबै तहका सरकार तथा निजी क्षेत्र सक्रिय हुनुपर्छ । पालिकास्तरमा स्थायी खेल समिति, खेल विकास कोष र नियमित प्रतियोगिता क्यालेन्डर अनिवार्य गरिनुपर्छ । वार्षिक एक–दुईवटा प्रतियोगिताले होइन, निरन्तर अभ्यास र प्रतिस्पर्धाको वातावरणले मात्र खेलाडी उत्पादन सम्भव हुन्छ ।

खेलकूद आधुनिक समाजको अभिन्न अङ्ग बन्दै गएको कुरा राज्यका सबै निकायहरुले बुझ्न आवश्यक छ । व्यक्तिगत तन्दुरुस्ती, अनुशासन र सामूहिक भावनाको विकास गर्न खेलको ठूलो महत्व हुने गर्दछ । आज खेल खेलेर पनि समाजमा सम्मानित जीवनयापन गर्न सकिन्छ भन्ने मान्यताको विकास भएको छ । खेलका माध्यमबाट अर्थतन्त्रलाई टेवा पुग्ने वातावरण बनाउन सकिन्छ । राम्रा र प्रतिभाशाली खेलाडिहरुले आकर्षक पुरस्कार पाउन थालेका छन् । यस्ता खेलाडिहरु सेलिब्रेटीको रुपमा स्थापित हुँदा त्यसको सकारात्मक प्रभाव समाजमा पनि पर्न थालेको छ । वस्तुको बजारिकण र विज्ञापनमा पनि खेल क्षेत्रको योगदान हुने वातावरण बनाउन सबै लाग्न जरुरी छ । क्रिकेट सबै पुस्ताले मन पराउने खेल भएकोले यसको विकास र विस्तारमा राज्यले पनि प्राथमिकता देओस् । 

आइतबार, २८ मंसिर २०८२, १४ : २९

प्रतिक्रिया