टिप्पणी

चटक र स्टन्ट हेरेर होइन स्पष्ट दृष्टिकोण भएको घोषणापत्र हेरेर मतदान गर्ने कि ?

सोमबार, १९ माघ २०८२, १३ : ४७

काठमाडौं - आशिका तामाङ्ग जर्मनीमा बिहे गरेर उतै घरजम गरेर बसेकी थिइन । उनी नेपाल आएर एकाएक सामाजिक सञ्जालमा भाइरल बनिन । छोटो समयमा उनी कहिले एयरपोर्टमा पार्किङ्ग शुल्कको बिरोध गरेर त कहिले राजमार्गका होटलमा कराएर चर्चामा आइन । अहिले उनी रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छिन् । 

यो त एउटा उदाहरण मात्र हो । खोज्दै जाने हो भने यस्ता दर्जनौं घटना भेटिन्छन् । सुदन गुरुङ्ग त ‘किङ्ग मेकर’ नै बने । अहिले उनी पनि रास्वपाको तर्फबाट उम्मेदवार छन् । उनी पनि जेनजि आन्दोलनमा पानी बाँड्न मात्र आएको बताउँथे । यी घटनाहरुबाट केही  चटक र उट्पटयाङ गरेर चर्चामा आउने र रास्वपाको नेता बन्ने सुनियोजित योजना रहेछ भन्ने देखिन्छ ।  

 एउटा निहीत उद्देश्य राखेर जेन–जी आन्दोलन सरु भएको रहेछ भन्ने सरकारमा गएका व्इक्तिहरुको भूमिकाबाट पनि छर्लङ्ग भैसकेको छ । खासगरी यो आन्दोलनको स्वामित्व लिने भन्दै चुनावमा होमिएका र आफूलाई वैकल्पिक र नयाँ दलहरूका उम्मेदवारले त चुनावलाई एउटा नाटकीय रूपमा प्रस्तुत गर्दै कतिपय चटकसमेत देखाउँन थालेका छन् । त्यसमध्ये कुनै दलको परिचय नभएको आफूलाई नागरिक सरकार भन्न रुचाउने सरकारका चार जना सदस्यले जब चुनाव सुरुभयो तब फुत्त सरकार छाडेर दलका उम्मेदवार भए । कसैले दलै खोले, कसैले पुराना दलबाट टिकट पाए र कसैले स्वतन्त्र उम्मेदवारी दिए । चुनावी सरकारका चार मन्त्रीले नै यसो गरेपछि यो चुनाव आफैँमा के नागरिक सरकारले गराउन लागेको हो भन्ने प्रश्न खडाभयो । अवस्था कस्तोसम्म भने हिजोसम्म आफूहरू कुनै दलमा नभएको अर्थात् दलीय परिचय नभएको भनी आफूलाई परिचय गराइरहेकाहरू मनोनयन दर्ता गर्ने दिन फुत्त सरकार छाडेर कुनै दलबाट टिकट लिएर उम्मेदवार बनिहाले । त्यतिले मात्रै पुगेन । त्यसरी उम्मेदवारी दिनासाथ निर्वाचन आचारसंहिताको घोर उल्लंघनकर्ता पनि आफैँ भए । यसले निर्वाचनको निष्पक्षता र स्वच्छतामा पनि शंका गर्ने ठाउँ दिएको छ । 

यस्तै दृश्यहरू अरू उम्मेदवारले पनि देखाइरहेका छन् । चुनावको केही साताअघि कुनै दलमा प्रवेश गरेर त्यसबाट आफू र श्रीमतीलाई उम्मेदवार बनाइहाले । यही मेसोमा आफूलाई परिवर्तनकारी दलका तर्फबाट उम्मेदवार भएकाहरूले यो चुनावमा उम्मेदवार बनेर मतदातामाथि ठूलो गुन लगाएको भन्नसमेत भ्याइरहेका छन् । उनका अनुसार आफूहरू देश बनाउन पोख्त भएको, देश बनाइदिन भन्दै युरोप, अमेरिका चीन र भारतलगायतका देशले बोलाइरहेका तर आफू नेपाल बनाउन भनेर उता नगएको भन्दै प्रचारका क्रममा लामा भाषण दिइरहेका दृश्यहरू सञ्जालमा आइरहेका छन् । यसले के देखाउँछ भने आफूलाई ठूला परिवर्तनकारी भनेर चिनाउने दलहरूले उम्मेदवारी तोक्दै चटकहरूलाई प्राथमिकता दिएका रहेछन् । उनका चुनावमा खडाभएका मध्ये उनका उम्मेदवार यस्ता नाटक देखाउनेमा सबभन्दा अघि रहेको पाइयो । 

यो निर्वाचनमा लोकप्रियताको दुरुपयोग भएको छ । एउटा पेसा र क्षेत्रमा लोकप्रियता हासिल गरियो भनेर कहिल्यै नगरेको कामको क्षेत्रमा होसिएर जाने प्रवृत्ति देखिएको छ । यस्तो प्रवृत्रि टिकाउ हुन सक्तैन । भारतमा इन्दिरा गान्धीको हत्यापछि सिनेमा क्षेत्रका बादशाह अमिताभ बच्चनलाई राजनीतिमा ल्याइयो । उनी महाराष्ट्रबाट लोकसभाको सदस्यको उम्मेदवार बने । उनका प्रतिद्वन्दी उप प्रधानमन्त्री भैसकेका व्यक्ति हेमवती नन्दनसिंह बहुगुणा थिए । चुनाव अमिताभले जिते । तर लोकसभामा तदनुकूलको भूमिका निर्वाह गर्न सकेनन् । उनको तुलनामा त्यस भूमिकामा बहुगुणा धेरै उपयोगी हुन सक्थे । यस घटनालाई भारतीय सञ्चारमाध्यमहरुले ‘लोकप्रियताको दुरुपयोग’ भनेका थिए । हाम्रो सन्दर्भमा पनि त्यस्ता घटनाहरु दोहोरिएका छन् । उदाहरणको लागि, सामान्य रूपको हिन्दी भाषासमेत बोल्न नजान्ने व्यक्ति भित्री मधेसका उम्मेदवार बनेका छन् । अझ यसमा हास्यापद कस्तो भने उनी एक्लै होइन दम्पत्ति नै उम्मेदवार छन् । यसले खासगरी यो चुनावमा उम्मेदवारी दिइएपछिका दिन कतै चुनाव नै चटकेहरूका हातमा जाने त होइन भन्ने प्रश्न खडा गरिदियो भने आश्चर्य नहोला । नाटक पनि कस्तो भने साइकल चढ्न जान्दैनन् । तराई भूभागमा साइकल नचढ्ने को होला । यो प्रश्नको उत्तर दिन उनी साइकल चढ्छन् र लढ्छन् । उनलाई लाग्दो हो आफूलाई साइकल चलाउँन जान्दैन भनेर हेपियो ।

तर सबैको कुदाइदिन खोज्दा साइकल त कुदेन । यी उम्मेदवार आफैँ केही बल्ढ्याङ खाएर उठे । भित्री मधेसको भूभागमा हिमाली जिल्लाका व्यक्ति उम्मेदवार बन्नु राम्रै होला प्रचारका जस्ता शैली अपनाइएका छन् त्यसलाई त्यो समाजले कसरी लेला भन्ने प्रश्न उठ्न सक्तछ । उम्मेदवारका अतिरञ्जना युक्त प्रचारले चुनावकै गरिमालाई व्यङ्ग्य गर्न थाल्यो भने सोच्नुपर्ने विषयमा पर्न सक्तछ । यो प्रवृत्ति कुनै एकजना उम्मेदवारको शैली भनेर पन्छाउन मिल्दैन । चुनावका समयमा नाटक गर्नेहरूको संख्या बढ्नु भनेको यस्तो निर्वाचनबाट खडा हुने संस्था यथास्थितिमा रहनु हो । त्यसैले मतदाताले उम्मेदवारको नाटक , चटक र स्टन्ट हेरेर होइन उसले जनता र देशलाई दिन सक्ने योगदान हेरेर मत जाहेर गर्नुपर्दछ । यदि कुनै दलबाट उम्मेदवार बनेको छ भने उसको दलको घोषणापत्र र मुलुक सञ्चालन गर्ने दृष्टिकोण तथा सरकार बनाएको खण्डमा नागरिकलाई दिने सेवा तथा जवाफदेहिता जस्ता पक्षहरुमा गम्भीर मनन् गरेर मतदान गर्ने अभ्यासको थालनी हुनु पर्दछ । नत्र फेरि पनि देश चटके र यथास्थितिवादीहरुको पञ्जाबाट मुक्त हुन सक्ने छैन ।  


 

 
सोमबार, १९ माघ २०८२, १३ : ४७

प्रतिक्रिया