टिप्पणी

समृद्धीको सपना देखाएर भाग्दै प्रचण्ड

मंगलबार, ०५ फागुन २०८२, १३ : ४२

काठमाडौं - नेपाली जनताले विकास र समृद्धीको भाषण सुन्ने दिन पनि सधैं आउँदो रहेनछ । जब निर्वाचन आउँछ तब गाउँ शहर र वस्ती बस्तीमा समृद्धीका सपना देखाइन्छन् । जनता रङ्गीबिरङ्गी दलका नेताहरुबाट विकास र समृद्धीको मिठो सपना देखाइएको सुन्न र हेर्न बाध्य हुन्छन् । साँच्चिकै चुनावको बेला जस्तो जन परिचालन हुने हो भने देशको अर्थव्यवस्था नै कति माथि पुग्ने थियो । 

अहिले नेपालीको घर आँगनमा निर्वाचनको बहार आएको छ । दलका नेता कार्यकर्ताहरु जनताको खेतबारीमा काम गर्न पनि तम्सेका छन् । कसैले जाँतो पिसेको छ । कसैले हलो जोतेको छ । कसैले अन्न स्याहार्न मदत गरेको छ । यी सबै यथार्थ हुन या नाटक ? निर्वाचन आउँदा एकपटक गरिने यी चटकहरु वास्तविक रुपमै सबै कार्यकर्ताले गर्ने हो भने नेपालको यो अवस्था हुँदैन थियो होला । तर जनतालाई क्षणिक रुपमा मनोवैज्ञानिक प्रभाव पार्न गरिने यी चटकहरु केवल नाटक मात्र हुँदा यो देशको शासन शैलीमा अझैं परिवर्तन आउला भन्ने लाग्दैन । 

नेताहरुले बिगतदेखि नै निर्वाचनकोबेला आश्वासनका पोकाहरु बाँड्ने र चुनाव जितिसकेपछि आफ्नो निर्वाचन क्षेत्रमा फर्केर नजाने गरेका धेरै घटनाहरु छन् । कतिपय गैहाले पनि पहिलेका प्रतिवद्धताहरु कुनै पनि पुरा गर्ने गरेको देखिदैन । दलका बिगतका घोषणा पत्र हेरे पनि यो कुराको पुष्टि हुन्छ । चुनावकोबेला समृद्धीको सपना देखाउने र अर्को चुनाव आउँदा अर्कै क्षेत्रमा जाने नेतामा प्रचण्ड पहिलो नेता होलान् । गजबको कुरा त के छ भने उनी जहाँ जान्छन् त्यहाँ विकासको लहर नै ल्याइदिन्छन् । तर भाषणमा मात्र । चुनाव जितेपछि यो गर्छु र त्यो गर्छु भन्नेमा पनि उनलाई कसैले उछिन्न सक्तैन । गणतन्त्रको पहिलो निर्वाचन उनले रोल्पाबाट लडे । माओवादी विद्रोहको आधार भूमिको रुपमा हेरिएको रोल्पामा उनको उम्मेदवारीलाई अस्वभाविक पनि मानिएन । त्यही चुनावमा उनी काठमाडौंबाट पनि उम्मेदवार भए । दुवै ठाउँबाट उनी निर्वाचित भए । 

त्यसपछि २०७० को निर्वाचनमा उनी काठमाडौंमा दोहोरिए । साथै सिराहाबाट पनि उम्मेदवारी दिए । काठमाडौंमा पराजित भए । सिराहामा जिते । तर त्यो जितको पछाडि के के भयो भन्ने लुकेको छैन । २०७४ को चुनावमा एमालेसँग गठबन्धन भयो । तर पनि उनी पहिलेको निर्वाचन क्षेत्रमा जान सकेनन् । चितवन गए । गठबन्धनको बलमा जिते । 
प्रचण्डलाई राम्रोसँग थाहा थियो कि जति समुद्धीको सपना देखाए पनि दोहोरिएर चुनाव लडे हारिन्छ । त्यसैले उनी २०७९ को निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर पनि चितवनबाट चुनाव लड्न डराए र गोरखातिर हानिए । बाबुरामलाई राष्ट्रपति बनाउने आश्वासन दिएर उनकै निर्वाचन क्षेत्र हात पारे । गोरखापछि प्रचण्ड कहाँबाट चुनाव लड्लान् भन्ने आम कौतुहल रहेकै बेला उनले रुकुम पूर्व रोजे । जहाँ उनको लागि सुरक्षित क्षेत्र थियो । तीनवटा मात्र पालिका भएको र सबैमा तत्कालीन माओवादी केन्द्रले जितेको । त्यो ठाउँ नयाँ पनि भयो । समृद्धीको सपना देखाउन पनि सजिलो । पुरानो ठाउँमा त उनको सपना कसैले पत्याउनेवाला थिएन । अहिले उनले रुकुम पूर्वबाट चीनको सीमासम्म पिंच बाटो बनाउने योजना सुनाइरहेका छन् । 

प्रचण्डको रुकुमको भाषण सुनेर उनको पहिलेका निर्वाचन क्षेत्रका मानिसहरु अचम्म मानिरहेका छन् होला । गोरखामा चुनाव लड्दा उनले बन्द भएको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने प्रतिवद्धता गरेका थिए । कुनैबेला सो उद्योगले अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो प्रभाव कायम गरेको थियो र स्थानीय रोजगारीमा पनि उल्लेखनीय थिथो । देशको प्रधानमन्त्री भैसकेको र फेरि पनि प्रधानमन्त्री बन्ने नेताले गरेको वाचालाई मतदाताले उत्साहपूर्वक साथ दिए । तर निर्वाचित भएपछि उनी फर्केर पनि गएनन् र पूर्व प्रतिवद्धताहरु कार्यान्वयन गर्नेतिर पनि कुनै पहल लिएनन् । त्यसैले उनी कुनै पनि निर्वाचन क्षेत्रमा दोहोरिने हिम्मत गर्दैनन् । अहिले नै ठोकुवा गर्न सकिन्छ, प्रचण्ड अर्को चुनावमा रुकुम पूर्व जाँदैनन् । सम्भवतः उनको लागि फेरि चुनाव लड्ने कुनै निर्वाचन क्षेत्र बाँकी रहनेछैन । त्यसैले समृद्धीको सपना देखाउँदै भाग्दै गर्ने प्रचण्डको नियति नै बन्न गएको छ । 

देशको मुहार फेर्न चाहने प्रत्येक मतदाताले प्रचण्ड मात्र होइन हरेक उम्मेदवारलाई राम्रोसँग चिन्न जरुरी छ । विकास र समृद्धीको सपना मात्र देखाउने तर तिनीहरुलाई कार्यान्वयन गर्न पहल नगर्ने सबै नेताहरुलाई राजनीतिबाट बिश्राम लिने बाटो देखाउन जरुरी छ ।  

 
 
मंगलबार, ०५ फागुन २०८२, १३ : ४२

प्रतिक्रिया