अन्तर्राष्ट्रिय नारी दिवस

नारी शक्ति : समाजको आधार

आइतबार, २४ फागुन २०८२, ११ : ३७

हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाइन्छ। यस वर्ष पनि विश्वभर विभिन्न कार्यक्रमका साथ नारी दिवस मनाइँदैछ। नेपालमा पनि सरकारी तथा गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउने परम्परा रहँदै आएको छ।

वैदिक सनातन परम्परा, हिन्दू धर्मशास्त्र र बौद्ध साहित्यमा नारीलाई शक्तिको प्रतीकका रूपमा चित्रण गरिएको पाइन्छ। वैदिक दर्शनमा महिलालाई प्रकृति र प्रकृतिलाई महिलाको स्वरूपका रूपमा व्याख्या गरिएको छ। त्यसैले महिला र प्रकृति दुवैलाई शक्तिको प्रतीक मानिएको हो । हिन्दू दर्शनमा नदी, खोला, पृथ्वी, वनजंगल जस्ता प्रकृतिका सबै वस्तुलाई देवी–देवताको रूपमा वर्णन गरिएको पाइन्छ। यसले प्रकृतिप्रति उच्च सम्मान र संरक्षणको भाव झल्काउँछ।

त्यति मात्र नभई विभिन्न जीवजन्तुहरूलाई पनि देवी–देवतासँग जोडेर सम्मान गर्ने परम्परा छ। जस्तै गाईलाई लक्ष्मीको स्वरूप मानिन्छ भने गोबर, गहुँत, माटो, खरानी जस्ता वस्तुहरूलाई पनि पवित्र मानेर प्रयोग गर्ने चलन छ। यी सबै अभ्यास प्रकृति पूजाका उदाहरण हुन्। प्रकृति पूजा भनेको प्रकृति संरक्षण गर्ने प्रतिबद्धता पनि हो।

जहाँ महिलामाथि शोषण र उत्पीडन हुन्छ, त्यहाँ प्रकृतिमाथि पनि आक्रमण भएको देखिन्छ। महिलाहरू सृष्टिका शक्तिमात्र नभई जीवनको सुन्दरता, श्रेष्ठता र निरन्तरताका आधार पनि हुन्। मानव सभ्यताको इतिहासले महिला र प्रकृतिबीच गहिरो सम्बन्ध रहेको देखाउँछ। महिलाहरूले प्रकृतिलाई केवल उपयोग मात्र नगरी माया र संरक्षण पनि गर्ने गरेका हुन्छन्। धेरैजसो अवस्थामा प्रकृति संरक्षणमा महिलाहरू पुरुषभन्दा अग्रसर देखिएका छन्।

हिन्दू धर्मशास्त्रमा प्रकृतिलाई स्त्रीसँग तुलना गरिएको छ र नारीलाई पृथ्वी जस्तै सहनशील भनिएको छ। पृथ्वीसँग तुलना गर्न सक्ने अर्को वस्तु नारीबाहेक अरू कुनै छैन भन्ने मान्यता पनि पाइन्छ। त्यसैले नारीलाई दया, माया र शक्तिको खानी मानिन्छ।

नेपालको सन्दर्भमा हेर्दा महिलाहरू उत्पादनमूलक कार्यमा दिनरात खटिरहेका छन ्। तर उनीहरूले उत्पादन गर्ने सेवा, वस्तु तथा सामाजिक सद्भावको उचित मूल्याङ्कन भने हुन सकेको छैन। स्थानीय वनजंगल, नदीनाला, पानी–पधेरो, खेतीपाती र पशुपालन जस्ता क्षेत्रमा महिलाहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ। यसरी समाज र अर्थतन्त्रमा ठूलो योगदान दिए पनि महिलाहरू अझै पनि विभिन्न प्रकारका अपहेलना र शोषणको सामना गरिरहेका छन्।

यस अवस्थाको दोष केवल पुरुषलाई मात्र दिनु पर्याप्त हुँदैन। महिलाहरू पनि आफैँ सचेत हुन आवश्यक छ। कतिपय अवस्थामा महिलाहरू महिलाबाटै शोषित र अपमानित हुने घटनाका समाचार पनि आएका हुन्छन । यस्तो प्रवृत्तिलाई रोक्न महिलाहरूबीच आपसी सचेतना र सहकार्य आवश्यक छ। यदि सबै महिलाहरू एकताबद्ध र सचेत भए भने घरेलु हिंसा र विभेदलाई धेरै हदसम्म कम गर्न सकिन्छ।

भनिन्छ एक पुरुष शिक्षित भएमा ऊ आफूमात्र शिक्षित हुन्छ, तर एक महिला शिक्षित भएमा सिंगो परिवार नै शिक्षित हुन्छ। त्यसैले शिक्षित महिलाले समाज परिवर्तनको नेतृत्व गर्न सक्छिन्। मानव सभ्यता र जीवनलाई संरक्षण गर्ने ज्ञान, सीप र अनुभवका दृष्टिले महिलाहरू धेरै अगाडि छन्। अवसर प्रदान गरियो भने महिलाहरूले जुनसुकै जिम्मेवारी पनि सफलतापूर्वक वहन गर्न सक्छन्।

यसैकारण विश्वभर महिलाहरूलाई नेतृत्व र जिम्मेवारी दिनुपर्छ भन्ने बहस तीव्र हुँदै गएको छ। महिला हक–हित संरक्षणका लागि विभिन्न महिला आयोग तथा संस्थाहरू गठन भएका छन्। ती संस्थाहरूले महिलाको समान अधिकारका लागि निरन्तर आवाज उठाइरहेका छन्। महिलाले पुरुषसरह अवसर पाएमा समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। त्यसैले महिलाहरू समाजका अभिन्न अंग हुन्।

अन्तर्राष्ट्रिय महिला दिवस पहिलो पटक सन् १९११ मा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डमा मनाइएको थियो। त्यसको एक शताब्दीपछि सन् २०११ मा यसको शताब्दी उत्सव मनाइएको थियो। संयुक्त राष्ट्रसंघले भने सन् १९७५ मा यो दिवसलाई औपचारिक मान्यता दिएको हो।

नारी दिवसको इतिहास सन् १९०८ मा अमेरिकाको न्युयोर्क सहरमा १५ हजार महिलाले समान ज्याला, कामको समय घटाउनुपर्ने र मतदानको अधिकारको माग गर्दै गरेको प्रदर्शनबाट सुरु भएको मानिन्छ। त्यसपछि सन् १९१० मा कोपनहेगेनमा आयोजित समाजवादी महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने ऐतिहासिक निर्णय गरेको थियो।

सन् १९१७ मा रूसी महिलाहरूले पहिलो विश्वयुद्धको विरोध गर्दै ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा स्वीकार गरेपछि यो दिवस विश्वभर मनाउन थालियो। पछि सन् १९७५ मा संयुक्त राष्ट्रसंघले पनि यसलाई आधिकारिक मान्यता दियो।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मूल उद्देश्य महिलामाथि हुने श्रमशोषणविरुद्ध आवाज उठाउनु र समान अधिकारका लागि संघर्ष गर्नु हो। यो संघर्ष आज पनि जारी छ।

नारी उन्मुक्ति र सशक्तीकरणका दृष्टिले यो दिवसको विशेष महत्व छ। नेपालमा पनि विभिन्न सरकारी निकाय तथा महिला अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले ¥याली, गोष्ठी र अन्तरक्रिया आयोजना गर्दै यो दिवस मनाउने गरेका छन्।

तर महिलाको अधिकारका लागि संघर्ष सुरु भएको एक शताब्दीभन्दा बढी समय बितिसक्दा पनि महिलाहरू अझै पूर्ण सम्मान र समान अवसरबाट वञ्चित छन्। सरकारले महिलाका लागि केही क्षेत्रमा आरक्षण तथा कोटा व्यवस्था गरे पनि सबै महिलाले त्यसको प्रतिफल समान रूपमा पाउन सकेका छैनन्।

त्यसैले महिलामाथि हुने अन्याय, उत्पीडन र विभेदको अन्त्य गर्दै समाजमा समान अवसर सुनिश्चित गर्नुपर्ने आवश्यकता अझै बाँकी छ। अन्तर्राष्ट्रिय नारी दिवसलाई केवल औपचारिक कर्मकाण्डका रूपमा नभई सार्थक र उपलब्धिमूलक बनाउन सकियो भने मात्र यसको वास्तविक अर्थ पूरा हुन्छ।

 
 
आइतबार, २४ फागुन २०८२, ११ : ३७

प्रतिक्रिया