ग्यालेक्सी फोरकेलाई काठमाडौं महानगरको अन्तिम चेतावनी, १५ दिनभित्र भाडा तिर्न र सामान हटाउन निर्देशन

मंगलबार, १२ जेठ २०८३, १२ : ४६

काठमाडौं- काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिलाई १५ दिनभित्र बक्यौता भाडा तिर्न तथा ग्यालेक्सी फोरके टेलिभिजनसँग सम्बन्धित सरसामान हटाउन अन्तिम सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र सामान नहटाइए कानुनअनुसार लिलाम प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ ।

महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले मंगलबार सूचना जारी गर्दै वडा नम्बर ३ बालुवाटारस्थित मृगेन्द्रप्रसाद मिश्रको घरमा सञ्चालन हुँदै आएको ग्यालेक्सी फोरके टेलिभिजनले लामो समयदेखि घरभाडा नतिरेको उल्लेख गरेको हो ।

घरधनी मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी राई) विरुद्ध ‘भाडा असुलउपर गरी घरजग्गा खाली गराइपाऊँ’ माग गर्दै काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए । त्यसपछि न्यायिक समितिले २०८१ कात्तिक १४ गते बहाल रकम र बहाल कर असुल गरी घर खाली गराउने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयनका लागि उच्च अदालत पाटनले २०८२ साउन २८ गते काठमाडौं महानगरपालिकाको नाममा दुई महिनाभित्र फैसला कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो । अदालतको आदेशपछि महानगरले २०८२ कात्तिक १४ गते डोर खटाएर निर्णय कार्यान्वयन गरेको जनाएको छ ।

महानगरका अनुसार निर्णय कार्यान्वयन भएको छ महिनापछि घरधनी मिश्रले ग्यालेक्सी फोरके टेलिभिजनभित्र रहेका सामान लिलाम गरिपाऊँ भन्दै २०८३ वैशाख २१ गते निवेदन दिएका थिए । त्यसपछि महानगरले अन्तिम सूचना जारी गर्दै १५ दिनभित्र बक्यौता रकम बुझाई सरसामान हटाउन निर्देशन दिएको हो ।

महानगरले तोकिएको समयभित्र सामान नलगिए काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० अनुसार लिलाम प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

हाल ग्यालेक्सी फोरके टेलिभिजन बन्द अवस्थामा छ । तलब नपाएको भन्दै कर्मचारीहरूले श्रम अदालतमा मुद्दा दायर गरेका थिए भने श्रम अदालतले सञ्चालकलाई सम्झौताअनुसार कर्मचारीको तलब भुक्तानी गर्न आदेश दिइसकेको छ ।

mahanagar_gorkha_media_Qi5ZdsdDQX

 
मंगलबार, १२ जेठ २०८३, १२ : ४६

प्रतिक्रिया