काठमाडौं- एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। कम्पनीले लन्च अवसरमा विशेष छुटसहित बिक्री योजना पनि घोषणा गरेको छ।
कम्पनीका अनुसार पहिलो ५० ग्राहकले यो गाडी ४९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। गाडीको आधिकारिक मूल्य भने ५१ लाख ५९ हजार रुपैयाँ निर्धारण गरिएको छ। साथै, खरिदकर्तालाई एक वर्षको निःशुल्क बीमा सुविधा पनि प्रदान गरिनेछ।
नेपालमा यसअघि ओमोडा ई फाइभका १,५०० भन्दा बढी युनिट बिक्री भइसकेका छन्। सोही सफलतालाई निरन्तरता दिँदै कम्पनीले अझ उन्नत प्रविधि, आधुनिक डिजाइन र प्रिमियम सुविधासहित ई फाइभ प्रो बजारमा ल्याएको जनाएको छ।

नयाँ ई फाइभ प्रोमा ५०.७ किलोवाट–घण्टा क्षमताको ब्याट्री, ९९ किलोवाटको मोटर तथा २८८ न्यूटन मिटर टर्क उपलब्ध छ। कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा करिब ३५० किलोमिटर दूरी तय गर्न सक्छ।
गाडीमा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १८ इन्चका ह्वील, आरामदायी सिट, सनरुफ, ठूलो टचस्क्रिन डिस्प्ले तथा उच्च गुणस्तरका इन्टेरियर सामग्री प्रयोग गरिएको छ। सुरक्षाका लागि १९ भन्दा बढी स्मार्ट ड्राइभिङ सहायता प्रणाली (एडीएएस) तथा ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणाली जडान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ओमोडा ई फाइभ प्रो अब देशभरका शोरूममार्फत बुकिङका लागि उपलब्ध रहेको छ।
प्रतिक्रिया