काठमाडौं– पछिल्ला तीन महिनायता देशका ११ जिल्लामा बर्डफ्लूको सङ्क्रमण पुष्टि भएपछि कुखुरा उद्योग थप जोखिममा परेको छ । रोगको फैलावटसँगै हजारौं कुखुरा नष्ट गर्नुपरेको छ भने किसान, व्यवसायी र उपभोक्तामा समेत चिन्ता बढेको छ । व्यवसायीहरूले समयमै नियन्त्रणका प्रभावकारी उपाय र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बर्डफ्लूका कारण कुखुरा उद्योगले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको पोल्ट्री व्यवसायी मञ्च नेपालका केन्द्रीय सचिव दयाराम महतले बताए । उनले भने, ‘संक्रमण देखिएका क्षेत्रमा तत्काल नियन्त्रणका उपाय अपनाइए पनि प्रभावित किसानले समयमै क्षतिपूर्ति नपाउँदा थप समस्यामा परेका छन् । रोग नियन्त्रणसँगै किसानका लागि राहत पनि सरकारको प्राथमिकतामा पर्नुपर्छ ।’
कुखुरामा देखिने बर्डफ्लू संक्रमण पुष्टि हुने एकद्वार प्रणालीले पनि किसान तथा व्यवयसायीहरुलाई गाह्रो भएको उनले बताए । कुखुरा पालन किसान तथा व्यवसायीहरुले समयमा रिपोर्ट नपाउँदा धेरै क्षति व्यहोर्न परेको उनको भनाइ छ ।’
‘पशु स्वास्थ्य विभागले बर्डफ्लू संक्रमण पुष्टि भएको सात दिन पछि खोरमा रहेको कुखुरा नस्ट गर्न जादा अधिकाशं कुखुरा मरी सक्ने र बाँकी रहेको कुखुरा नस्ट गर्दा प्रचलित बजार मूल्यको ७५ प्रतिशत क्षतिपुर्ति पाउने हुँदा किसान तथा व्यवसायीहरुलाई आर्थिक भार परेको छ । बर्डफ्लू पन्छीमा छिटो संक्रमण हुने हुँदा यसलाई सरकारले समयमै संक्रमण नियान्त्रण नगर्दा, संक्रमण पुष्टि हुने एकद्धार प्रणाली भएकोले किसान तथा व्यवसायीहरुले ठूलो क्षति व्यहोर्नु परेको छ’, सचिव महतले आजको अर्थसँगको कुराकानीमा भने ।
उनका अनुसार, रोग फैलिने डरका कारण बजारमा कुखुराको मासु र अण्डाको बिक्रीमा पनि कमी आएको छ । राम्रोसँग पकाएर खाँदा कुखुराको मासु र अण्डा सुरक्षित हुने भएकाले अफवाहका आधारमा उपभोग घटाउन नहुने उनको भनाइ छ ।
‘रोग देखिएपछि सबै कुखुरा नष्ट गर्नुपर्छ । दाना, औषधि र बैंकको ऋणको खर्च त छँदैछ, आम्दानीको स्रोत नै बन्द हुन्छ । सरकारले क्षतिपूर्ति ढिलो दिँदा फेरि व्यवसाय सुरु गर्न पनि कठिन भएको’ उनले गुनासो गरेका छन् । उनले समयमै रोग परीक्षणको रिपोर्ट उपलब्ध गराउने, संक्रमण पुष्टि हुने एकद्धार प्रणाली हटाउने, समयमै क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग राखेको बताएका छन् ।
सरकारले जैविक सुरक्षा मापदण्ड पालना गर्न सहयोग गर्नुपर्ने प्रभात पोल्ट्री फार्म तथा प्रभात पोल्ट्री ह्याचरी काभ्रेका सञ्चालक ईश्वरी शर्मा बताउँछन् । उनले भने, ‘हामीले सकेसम्म सावधानी अपनाएका छौं । तर रोग नियन्त्रणका लागि किसानलाई तालिम, प्राविधिक सहयोग र आवश्यक सामग्री उपलब्ध गराउनुपर्छ । किसानले मात्रै यो समस्या समाधान गर्न सक्दैन ।’
व्यवसायी शर्माका अनुसार, खुल्ला सिमाना भएकोले भारतबाट आयात हुने चल्ला, अण्डा तथा अन्य सामग्रीको आवतजावतले व्यवसायमा चुनौती थपिएको छ । उनले सीमावर्ती क्षेत्रबाट हुने चल्ला, अण्डा तथा अन्य सामग्रीको आवतजावतमा कडाइ गर्नुपर्ने बताए । उनले नियमित अनुगमन, प्रयोगशाला परीक्षण र जैविक सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयनमा जोड दिए । बर्ड फ्लुको जोखिम नेपालमा मात्र नभएर अन्तराष्ट्रिय बजारमा पनि यसको प्रभाव रहेको उनले बताए । बर्डफ्लू भएको कुखुरा तत्काल मर्ने भएकोले जिवित कुखुराको मासु राम्रोसँग पकाएर खान मिल्ने उनको भनाई छ ।
प्रत्येक फार्ममा आगन्तुकको प्रवेश नियन्त्रण, उपकरणको नियमित निसंक्रमण, जंगली चरासँगको सम्पर्क रोक्ने व्यवस्था तथा कुनै असामान्य मृत्यु भए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन व्यवसायीहरूले किसानलाई आग्रह समेत गरेका छन् ।
कुखुरा उद्योगले देशमा लाखौं मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिँदै आएको छ । त्यसैले बबर्डफ्लू नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै प्रभावित किसानका लागि तत्काल राहत, सहुलियतपूर्ण कर्जा, उचित क्षतिपूर्ति र रोग नियन्त्रणका दीर्घकालीन कार्यक्रम सञ्चालन गर्नुपर्दछ । समयमै प्रभावकारी नियन्त्रण, सरकारी–निजी क्षेत्रबीच समन्वय र किसानमैत्री नीति लागू गर्न सके बर्ड फ्लुको जोखिम घटाउँदै कुखुरा उद्योगलाई थप संकटबाट जोगाउन सकिने छ ।
प्रतिक्रिया