काठमाडौं– सामान्य नागरिकले राज्यबाट न्याय, सुरक्षा र सम्मानको अपेक्षा गर्छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ भने सामाजिक सुरक्षाको व्यवस्था पनि गरेको छ । तर पछिल्ला दिनहरूमा कर, जरिवाना र विभिन्न प्रशासनिक कारबाहीलाई लिएर नागरिक स्तरमा व्यापक असन्तुष्टि बढिरहेको छ । यस्तै पृष्ठभूमिमा गणेश नेपालीको आत्मदाहको घटनाले राज्यका नीति, स्थानीय प्रशासनको कार्यशैली र नागरिकको अवस्थाबारे गम्भीर बहस सुरु गरेको छ ।
लोकतन्त्रको मूल आधार नागरिकको सम्मान, सुरक्षा र न्याय हो । राज्यका कानुन र नीतिहरू नागरिकको जीवन सहज बनाउनका लागि बन्नुपर्छ, उनीहरूलाई असैह्य आर्थिक र मानसिक दबाबमा पार्नका लागि होइन । तर पछिल्ला वर्षहरूमा कर, शुल्क र जरिवानाको दायरा विस्तार हुँदै जाँदा एउटा गम्भीर प्रश्न उठ्न थालेको छ— के हाम्रो राज्य नागरिकमैत्री बन्दै गएको छ, कि दण्डमुखी ?
गणेश नेपालीको आत्मदाहको घटनाले यही प्रश्नलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ । यदि कुनै नागरिक आर्थिक बोझ, प्रशासनिक दबाब वा राज्यका निर्णयबाट उत्पन्न मानसिक तनावका कारण जीवन त्याग्ने अवस्थामा पुग्छ भने त्यो केवल एउटा व्यक्तिगत दुर्घटना मात्रै नभएर राज्य र समाज दुवैका लागि गम्भीर चेतावनी पनि हो ।
नेपालको संविधानले सम्मानपूर्वक बाँच्न पाउने अधिकारसहित सामाजिक सुरक्षाको प्रत्याभूति पनि गरेको छ । त्यसैले कानुन कार्यान्वयन गर्दा राज्यले मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राख्नुपर्छ । नियमको उद्देश्य अनुशासन कायम गर्नु हो, नागरिकलाई निराशा र पीडामा धकेल्नु होइन ।
नियम उल्लंघन गर्ने व्यक्तिलाई आर्थिक जरिवाना एवं कानुनी कारबाही गर्नु स्वाभाविक हो । तर जरिवानाको रकम निर्धारण गर्दा नागरिकको आर्थिक अवस्था, व्यवहारिकता र त्यसले पार्ने प्रभावबारे पनि गम्भीरतापूर्वक ख्याल गरिनुपर्र्छ । आर्थिक रुपमा सम्पन्न व्यक्तिका लागि सामान्य लाग्ने रकम दैनिक ज्यालादारी गर्ने वा न्यून आय भएका परिवारका लागि महिनौँको खर्च बराबर हुन सक्छ । आर्थिक जरिवाना सबैका लागि समान हुन सक्छ, तर त्यसले पार्ने प्रभाव सबैमा समान हुँदैन ।
यही कारणले राज्यका नीति निर्माणमा संवेदनशीलता, विवेक र मानवीय दृष्टिकोण अपरिहार्य हुन्छ । यदि कानुनको कार्यान्वयनले नागरिकमा भय, असन्तोष र निराशा बढाउँदै जान्छ भने त्यसले लोकतन्त्रप्रतिको विश्वास कमजोर बनाउँछ ।
गणेश नेपालीको घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म व्यापक प्रतिक्रिया देखिएको छ । धेरैले जरिवाना प्रणालीको पुनरावलोकन, नागरिकमैत्री प्रशासन र उत्तरदायी शासनको माग गरेका छन् । अर्कोतर्फ, घटनाको वास्तविक कारणबारे निष्पक्ष अनुसन्धान आवश्यक रहेको आवाज पनि उत्तिकै महत्वपूर्ण छ । कुनै पनि निष्कर्ष तथ्य र अनुसन्धानका आधारमा गरिनुपर्छ ।
राज्यको शक्ति नागरिकमाथि दण्ड थोपर्ने माध्यम मात्र होइन, उनीहरूको अधिकारको संरक्षण गर्ने जिम्मेवारी पनि हो । त्यसैले कानुन कार्यान्वयन र मानवीय संवेदनशीलताबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता बनेको छ ।
गणेश नेपालीको दुःखद घटनालाई केवल एउटा समाचारका रूपमा होइन, शासन प्रणाली, सार्वजनिक नीति र नागरिक–राज्य सम्बन्धमाथि गम्भीर आत्मसमीक्षाका रूपमा लिनुपर्छ । यदि यो घटनाबाट राज्यले पाठ सिक्यो, जरिवाना र प्रशासनिक नीतिलाई थप न्यायपूर्ण र व्यवहारिक बनायो भने भविष्यमा यस्ता दुःखद घटना नदोहोरिन सक्छ ।
गणेश नेपालीको आत्मदाहको वास्तविक कारणबारे सम्बन्धित निकायबाट विस्तृत अनुसन्धान हुनुपर्ने माग पनि उठेको छ ।
जरिवानामात्रै कारण थियो वा अन्य व्यक्तिगत तथा सामाजिक पक्ष पनि जोडिएका थिए भन्ने विषय तथ्यका आधारमा स्पष्ट हुनुपर्छ । कुनै पनि घटनाको निष्कर्ष अनुसन्धानबिनै निकाल्नु उपयुक्त हुँनेछैन् ।यस घटनाले अर्को महत्त्वपूर्ण प्रश्न पनि उठाएको छ— के वर्तमान जरिवाना प्रणाली सबै नागरिकका लागि समान रूपमा न्यायपूर्ण छ ? आर्थिक रूपमा कमजोर र सम्पन्न नागरिकमाथि एउटै प्रकृतिको जरिवाना लगाउँदा त्यसको प्रभाव नकारात्मक पर्नेतर्फ ख्याल गरिनुपर्छ ।
त्यसैले, जरिवाना प्रणालीलाई बढी न्यायसंगत, व्यवहारिक र नागरिकमैत्री बनाउन आवश्यक रहेको आवाज बलियो बन्दै गएको छ ।लोकतन्त्रको वास्तविक मापन राज्यले कति कडा सजाय दिन सक्छ भन्ने होइन; कठिन परिस्थितिमा परेको नागरिकलाई कति न्याय, सहारा र आशा दिन सक्छ भन्ने हो ।
प्रतिक्रिया