काठमाडौं– अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले बुधबार बिहान ६ः३५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रु तथा सवारी चालकलाई सचेत रहन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार काठमाडौं र धादिङ जोड्ने चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरोका कारण अवरुद्ध सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्मको अवस्था मूल्याङ्कन गरेर मात्र सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा पनि टोखा–छहरे सडकखण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । उक्त सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउन तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया