काठमाडौं– भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।
विपद्को समयमा प्रभावित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार तथा सुरक्षित बासस्थानको व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सरकारलाई उक्त रकम उपलब्ध गराइएको महामन्त्री पौडेलले बताए।
चेक हस्तान्तरण गर्दै पौडेलले संकटको समयमा नेपाली कांग्रेस बाढीपहिरो प्रभावित नागरिकको साथमा रहेको बताए। उनले बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका तथा अलपत्र परेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराए।
‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धारमा जुन ढिलासुस्ती देखिएको छ, त्यसलाई तत्काल सच्याएर उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गर्दछु,’ पौडेलले भने।
उनले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको शीघ्र उद्धार तथा बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउनसमेत माग गरे।
राहत तथा पुनःस्थापनाका लागि उपलब्ध गराइने सहयोग पारदर्शी रूपमा वितरण गर्न र आगामी दिनमा विपद् व्यवस्थापनलाई थप चुस्त, व्यवस्थित तथा प्रभावकारी बनाउनसमेत पौडेलले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया