काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले भोटेकोशीमा आएको भीषण बाढीबाट सिर्जित राष्ट्रिय शोकलाई आपसी एकता, शक्ति र दृहढ संकल्पमा बदल्न आह्वान गरेका छन्।
भाद्र १० गते आएको बाढीले खोसेका अमूल्य मानव जीवन र छिनभरमै उजाडिएका परिवारको चित्कारले सिङ्गो देशको हृदय छियाछिया बनाएको उल्लेख गर्दै शर्माले भौतिक संरचना पुनर्निर्माण गर्न सकिए पनि गुमेका आफन्त र भत्किएका सपना फर्काउन नसकिने बताएका छन्।
“मानवीय क्षतिको यो असीम पीडा शब्दमा व्यक्त गर्न असम्भव छ,” उनले भनेका छन्, “यस त्रासद विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हृदयदेखि नै गहिरो समवेदना व्यक्त गर्दछु।”
शर्माले बेपत्ता नागरिकको खोज तथा उद्धार कार्य निरन्तर र प्रभावकारी रूपमा जारी राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
यो शोक कुनै एउटा भूगोल वा समुदायको मात्र नभई सिङ्गो राष्ट्रको साझा पीडा भएको उनको भनाइ छ। हरेक ठूला विपत्तिमा नेपाली जनता एकाकार भएर उभिएको इतिहास स्मरण गर्दै उनले अहिलेको राष्ट्रिय महाविपत्तिमा पनि एकअर्कासँग गाँसिएर पीडालाई शक्ति र दृढ सङ्कल्पमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।
उद्धार, राहत र पुनर्स्थापनाका लागि हातेमालो गर्दै पीडित परिवारको आँसु पुछ्न सबै नागरिकलाई आ–आफ्नो स्थानबाट एकजुट हुन शर्माले आह्वान गरेका छन्।
प्रतिक्रिया