काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडक कटान तथा क्षति पुर्याएपछि काठमाडौं भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग आठ दिनदेखि अवरुद्ध छ। धादिङको कृष्णभीरमा पहिरो खसेर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा खाद्यान्नको आपूर्तिमा समेत असर परेको छ।
खाद्यान्न आपूर्तिमा परेको अवरोधको प्रभाव तत्काल ठूलो रूपमा नदेखिए पनि पछिल्लो समय पहिल्यैदेखि देखिँदै आएको खाना पकाउने ग्यासको अभाव भने थप चुलिएको छ। राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकातर्फ आउँदै गरेका ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका कतिपय सवारीसाधन बाटोमै रोकिएका छन्।
सडक अवरुद्धसँगै काठमाडौंका विभिन्न स्थानमा रहेका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड बढ्न थालेको छ। नयाँ सडकस्थित धर्मपथ क्षेत्रलगायतका स्थानमा ग्यास लिन सर्वसाधारण लामबद्ध हुन थालेका छन्। काठमाडौं तथा आसपासका क्षेत्रमा आपूर्ति हुने ग्यास बोकेका बुलेटसमेत नियमित रूपमा भित्रिन नसक्दा बजारमा अभाव थप बढेको व्यवसायीहरू बताउँछन्।
ग्यासको समस्या काठमाडौं उपत्यकामा मात्र सीमित छैन। देशका प्रमुख सहरमा रहेका ग्यास डिलरहरूमा समेत उपभोक्ताको लाइन घट्न सकेको छैन। माग बढ्दै गए पनि आपूर्ति सहज हुन नसक्दा उपभोक्ताले ग्यासका लागि घण्टौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ।
यता, सम्बन्धित निकायले पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्। तर सडक तत्काल सञ्चालनमा आउन नसके काठमाडौं उपत्यकामा ग्यास, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्ति थप प्रभावित हुने जोखिम देखिएको छ।
बजारमा ग्यासको मूल्यसमेत बढेको छ भने माग पनि निरन्तर बढिरहेको छ। बढी मूल्य तिर्न तयार हुँदासमेत उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको अवस्था छ। कतिपय उपभोक्ता ग्यासका लागि मध्यरातदेखि नै बिक्री केन्द्रमा पुगेर लाइन बस्न बाध्य भएका छन्।
लामो समयदेखि ग्यासको अभाव देखिँदै आए पनि समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न नसक्दा उपभोक्ताको सास्ती झन् बढेको छ। करिब दुई महिनादेखि काठमाडौंका विभिन्न चोक तथा बिक्री केन्द्रमा ग्यासका लागि लामो लाइन देखिँदै आएको छ। पछिल्लो समय पृथ्वी राजमार्ग अवरुद्ध भएपछि आपूर्ति प्रणालीमा थप दबाब परेको छ।
प्रतिक्रिया