काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीले सर्वसाधारणसँगै पत्रकारहरूका परिवारमा समेत ठूलो क्षति पुर्याएको छ । बाढीमा पत्रकार निराजन पौडेलले आफ्ना परिवारका पाँच सदस्य गुमाएका छन् भने घर तथा सम्पत्तिसमेत बाढीले बगाएको छ ।
बाढीमा पौडेलका बुवा, आमा, काका, काकी र बहिनीको मृत्यु भएको हो । आफन्त गुमाउनुका साथै घरबारसमेत गुमाएपछि उनी अहिले काठमाडौंको टोखामा किरियामा छन् ।
रसुवाका पत्रकार पौडेल रातोपाटी अनलाइनमा कार्यरत छन् भने नेपाल पत्रकार महासंघ रसुवा शाखाका सदस्यसमेत हुन् । उनको स्थायी घर नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे हो । रोजगारीका क्रममा काठमाडौंमा रहेर पत्रकारिता गर्दै आएका पौडेलको परिवार भोटेकोशी बाढीबाट गम्भीर रूपमा प्रभावित भएको हो ।
यही विपत्तिका बीच नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले पौडेलसहित बाढी प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई आर्थिक सहयोग गरेको छ । महासंघले प्रभावित पत्रकार तथा परिवारका लागि कुल एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ ।
महासंघका अनुसार रसुवाका निराजन पौडेल, नुवाकोटका किरण अधिकारी र सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल तथा नुवाकोटका बेपत्ता पत्रकार राजकुमार नेपालीका परिवारलाई सहयोग गरिएको हो । प्रभावित पत्रकार तथा परिवारको अवस्था मूल्यांकन गरी सम्बन्धित शाखामार्फत तथा प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरको अगुवाइमा नुवाकोट शाखाका अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखाका अध्यक्ष केशव पौडेल र धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीलगायतको समन्वयमा प्रभावित पत्रकार तथा परिवारलाई भेटेर सहयोग गरिएको हो ।
बाढीका कारण पत्रकारका परिवारमा मात्रै क्षति पुगेको छैन, उनीहरूले काम गर्ने सञ्चारमाध्यमसमेत प्रभावित भएका छन् । बाढी तथा पहिरोका कारण कतिपय स्थानमा सडक तथा यातायात अवरुद्ध हुँदा समाचार संकलनमा कठिनाइ भएको छ । विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा समाचार सम्प्रेषणमा समस्या भएको तथा सञ्चार उपकरणमा समेत क्षति पुगेको महासंघले जनाएको छ ।
महासंघ बागमती प्रदेशका अध्यक्ष मगरले विपद्का समयमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सूचना प्रवाह गरिरहेका पत्रकारको सुरक्षा र कार्यसम्पादनका लागि आवश्यक वातावरण बनाउन सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए ।
उनले बाढीबाट प्रभावित पत्रकारलाई आवश्यक सञ्चार सेवा, उपकरण, राहत तथा उद्धारको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै महासंघ पत्रकारहरूको अभिभावक संस्था भएकाले विपद्मा परेका पत्रकारको पुनःस्थापना तथा बेपत्ता पत्रकारको खोजीका लागि आवश्यक पहल गरिरहेको बताए ।
प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई थप सहयोग आवश्यक रहेकाले सहयोगका लागि अध्यक्ष मगरले सम्बन्धित सबैमा अपिल गरेका छन् ।
महासंघले रसुवा, नुवाकोट र धादिङमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा फसेकाहरूको उद्धार, बेपत्ताको खोजी तथा घाइतेको उपचारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ ।
प्रतिक्रिया