अपडेट

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, ४,९९६ हजार अझै सम्पर्कविहीन

सोमबार, २२ भदौ २०८३, १२ : २२

काठमाडौं– बाढीका कारण हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ २२ गते बिहान ११ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न मानव अंगसहित १ हजार ३ सय ५५ जनाको शव फेला परेको जनाएको हो।

प्राधिकरणका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ। तीमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत गरी आफन्तलाई बुझाइएको छ।

बाढीपछि करिब ४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन छन्। रसुवाबाट प्राप्त विवरणअनुसार १ हजार ९६७ जना, नुवाकोटबाट २ हजार ३४० जना नेपाली नागरिक, विभिन्न क्षेत्रका सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० जना र ५८९ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

विपद्पश्चात् हालसम्म १३ हजार ३ सय ९६ जनाको जीवितै उद्धार गरिएको छ। घाइते ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको छ। जसमध्ये नेपाली सेनाले ३ हजार ३७९, सशस्त्र प्रहरी बलले २ हजार ९७० र विभिन्न अस्पतालले ३२३ जनाको उपचार गरेका छन्। अस्पतालमा उपचार गराइरहेका ३२३ जनामध्ये २२८ जना डिस्चार्ज भइसकेका छन्।

प्रभावित नागरिकका लागि सञ्चालन गरिएका ३९ वटा होल्डिङ सेन्टरमा अहिले ३ हजार ५ सय ३३ जना बसिरहेका छन्। नुवाकोटमा २ हजार ६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना होल्डिङ सेन्टरमा रहेका छन्। उद्धार तथा राहत कार्यमा हालसम्म २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

खोज तथा उद्धारका लागि नेपाली सेनाले १ हजार १५७ पटक, काठमाडौंमा निजी क्षेत्रमार्फत १२९ पटक र सशस्त्र प्रहरी बलले १९३ पटक हेलिकप्टर उडान गरेका छन्।

भौतिक पूर्वाधारतर्फ रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको छ। सञ्चार सेवातर्फ नेपाल टेलिकमका १२० मध्ये ११७ र एनसेलका ७८ मध्ये ७६ वटा टावर पुनः सञ्चालनमा आइसकेका छन्।

सरकारले नगद राहतस्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। भदौ २१ गते रसुवामा एक हेलिकप्टर र चार ट्रकमार्फत खाद्यान्न, जेनेरेटर, हाइजिन किट तथा स्टुडेन्ट किट ढुवानी गरिएको छ।

प्रभावित क्षेत्रमा ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल, १३ हजार लिटर हवाई इन्धन र ४५७ सिलिन्डर ग्याससमेत पठाइएको प्राधिकरणले जनाएको छ। मनोसामाजिक परामर्शका लागि स्वास्थ्य मन्त्रालयमार्फत १५० जना जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

सोमबार, २२ भदौ २०८३, १२ : २२

प्रतिक्रिया