काठमाडौं- भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी अझै ६ हजार १४५ जना बेपत्ता छन्।
प्राधिकरणका अनुसार मृतकमध्ये ३३६ जना महिला, ५४९ जना पुरुष रहेका छन् भने ५२५ वटा मानव अवशेष फेला परेका छन्। बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये ३४४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचारपछि २९० जना घर फर्किएका छन्। विभिन्न सुरक्षा निकायले हालसम्म ९ हजार ८२० जनालाई प्रत्यक्ष उपचार सेवा प्रदान गरेका छन्।
डिएनए नमुना संकलन तीव्र
मृतक तथा बेपत्ताको पहिचानका लागि डिएनए नमुना संकलनलाई तीव्रता दिइएको छ। हालसम्म १ हजार २८६ जना मृतक तथा उनीहरूका आफन्तबाट १ हजार ९४४ वटा डिएनए नमुना संकलन गरिएको प्राधिकरणले जनाएको छ।
बेपत्ता तथा मृतकका आफन्तले नजिकैको जिल्ला प्रहरी कार्यालयमा दुईप्रति फोटो र नाता प्रमाणित कागजातसहित डिएनए परीक्षणका लागि नमुना बुझाउन सक्ने व्यवस्था मिलाइएको छ।
तीन जिल्लामा होल्डिङ सेन्टर
उद्धार गरिएका नागरिकको अस्थायी व्यवस्थापनका लागि प्रभावित क्षेत्रमा २७ वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ। हाल नुवाकोटमा ८३२ जना, रसुवामा ८१७ जना र धादिङमा ९४ जना होल्डिङ सेन्टरमा रहेका छन्।
उद्धार तथा राहत कार्यका लागि नेपाल प्रहरी र नेपाली सेनाका हेलिकप्टरबाट १ हजार ६३४ वटा तथा सशस्त्र प्रहरी बलका हेलिकप्टरबाट ३२० वटा उडान सम्पन्न भएका छन्।
सडक सम्पर्क पुनःस्थापित गर्न नुवाकोटको देवीघाटमा एक्रो पुल जडान गरी सञ्चालनमा ल्याइएको छ। प्रभावित क्षेत्रमा सडक तथा हवाई मार्गबाट खाद्यान्न तथा गैरखाद्य राहत सामग्री पठाउने काम जारी रहेको छ।
६० हजार लिटर डिजेल र ५०२ ग्यास सिलिन्डर पठाइयो
प्रभावित क्षेत्रमा इन्धन तथा आपूर्ति व्यवस्था सहज बनाउन हालसम्म ६० हजार लिटर डिजेल, १२ हजार लिटर पेट्रोल र ४ हजार लिटर हवाई इन्धन उपलब्ध गराइएको छ। यस्तै, ५०२ वटा ग्यास सिलिन्डर प्रभावित क्षेत्रमा पठाइएको छ।
होल्डिङ सेन्टरमा नबस्ने परिवारलाई मासिक १५ हजार
सरकारले होल्डिङ सेन्टरमा बस्न नचाहने प्रभावित परिवारलाई बढीमा ६ महिनासम्म आवास तथा जीविकोपार्जनका लागि नगद सहयोग उपलब्ध गराउने भएको छ।
जसअनुसार प्रत्येक परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि थप प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।
प्रतिक्रिया