काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एकमहिने अवधिको निक्षेप संकलन उपकरणमार्फत वित्तीय प्रणालीबाट उक्त रकम खिच्न बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन्।
इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल पेस गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग जाँदा बाँकी नरहने गरी पेस गर्नुपर्नेछ।
बैंक तथा वित्तीय संस्थाले कुल ३० अर्ब रुपैयाँसम्मका लागि बोलकबोल पेस गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको अवधि एक महिना रहनेछ।
प्रतिक्रिया