रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सातौं साधारणसभा सम्पन्न

सोमबार, ०५ असोज २०८३, १५ : ४८

रोल्पा- रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सातौं साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा खानेपानी आयोजनाको डिजाइनमा कमजोरी हुँदा लिफ्टिङ प्रणालीमार्फत पानी आपूर्ति गर्नुपरेको र त्यसका कारण सञ्चालन खर्च बढेर उपभोक्तामाथि आर्थिक भार थपिएको विषय उठाइएको छ।

राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले आयोजनाको डिजाइनमा कमजोरी रहेको भन्दै प्राकृतिक रूपमा उपलब्ध पानीका मुहानबाट पानी ल्याउन सकिने अवस्था हुँदाहुँदै लिफ्टिङ प्रणाली अपनाइएको बताए। लिफ्टिङ प्रणालीका कारण विद्युत् महसुल, कर, मूल्य अभिवृद्धि कर, ब्याज तथा अन्य सञ्चालन खर्च बढ्दा उपभोक्ताले महँगो खानेपानी महसुल तिर्नुपरेको उनको भनाइ थियो।

ओलीले खानेपानी नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय भएकाले आयोजनाको डिजाइन तथा संरचनामा देखिएका समस्या पुनरावलोकन गरी आवश्यक सुधार तथा पुनर्निर्माण गर्नुपर्नेमा जोड दिए।

साधारणसभामा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापाले स्वच्छ र सफा खानेपानी पाउनु नागरिकको मौलिक अधिकार भएको बताए। खानेपानी क्षेत्रमा स्थानीय सरकारले मात्र सबै काम गर्न नसक्ने भन्दै उनले केन्द्र सरकारका योजना तथा बजेटसँग समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राखे।

प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले खानेपानीजस्तो आधारभूत सेवा नागरिकले सहज रूपमा पाउनुपर्ने बताए। उनले खानेपानीको महसुल अनावश्यक रूपमा महँगो बनाउन नहुने उल्लेख गर्दै महसुललाई सेवा प्रदान गरेबापत लिइने मूल्यका रूपमा बुझ्नुपर्ने बताए।

निवर्तमान नगर प्रमुखले स्थानीय सरकारको आलोचना मात्र गर्नुभन्दा स्थानीय तहको बजेटको सीमिततालाई पनि बुझ्नुपर्ने बताए। बजेट अभावका कारण खानेपानी क्षेत्रमा अपेक्षित लगानी गर्न नसकिएको उनको भनाइ थियो।

दाङ हापुरे–पुरन्धारा खानेपानी संस्थाका सचिव तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ दाङका जिल्ला सदस्य डिल्ली ओलीले आयोजना निर्माण सम्पन्न भएपछि पुनर्निर्माण तथा मर्मतसम्भारमा सरकारले पर्याप्त ध्यान नदिनु खानेपानी आयोजनाको प्रमुख समस्यामध्ये एक भएको बताए।

साधारणसभामा संस्थाका कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा महासचिवले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ।

संस्थाका अध्यक्ष सुमन विकको अध्यक्षतामा सम्पन्न सभामा महासचिवले सञ्चालन गरेका थिए। कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी घनश्याम गौतम, निवर्तमान नगर प्रमुख, विभिन्न वडाका अध्यक्ष तथा राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो।

समापनमा अध्यक्ष विकले खानेपानी सेवालाई प्रभावकारी बनाउन उपभोक्ता, स्थानीय सरकार र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए। आगामी दिनमा खानेपानी सेवालाई थप व्यवस्थित, प्रभावकारी र उपभोक्तामैत्री बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।

सोमबार, ०५ असोज २०८३, १५ : ४८

प्रतिक्रिया