काठमाडौं- प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्नका लागि नाम टिपाएका सांसदहरू सभामुखले बोलाउँदा सभाकक्षमै उपस्थित नभएको दृश्य दोहोरिँदै आएको छ। मंगलबारको बैठकमा पनि शून्य समयमा बोल्न नाम टिपाएका तीन सांसद सभामुखले पटक–पटक बोलाउँदा पनि उपस्थित भएनन्।
प्रतिनिधिसभाको बैठक सुरु भएपछि आकस्मिक समय सञ्चालन भयो। आकस्मिक समयमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो धारणा राखेपछि शून्य समय सुरु भएको थियो।
शून्य समयमा सभामुख डोलप्रसाद अर्यालले सुरुमा जगतप्रसाद जोशी र त्यसपछि ललितपुरका सांसद जगदिश खरेललाई बोलाए। उनीहरूले सभामा आफ्नो विषय राखे।
त्यसपछि सभामुखले दोलखाका सांसद जगदिश खरेलको नाम बोलाए। तर, उनी सभाकक्षमा उपस्थित थिएनन्। सभामुखले उनलाई तीन पटकसम्म बोलाए पनि उनी उपस्थित नभएपछि अन्य सांसदलाई बोल्ने अवसर दिइयो।
त्यसपछि प्रतिनिधिसभा सदस्य धर्मराज केसीको पालो आयो। सभामुखले तीनपटकसम्म नाम बोलाउँदा पनि केसी सभाकक्षमा उपस्थित थिएनन्। त्यसपछि सभामुखले अर्को सांसदलाई बोल्ने अवसर दिए।
शून्य समयकै क्रममा अर्का सांसद पुकार बमको नाम बोलाइयो। उनी पनि सभाकक्षमा उपस्थित नभएपछि उनको बोल्ने समय त्यसै खेर गयो।
मंगलबार शून्य समयमा बोल्न नाम टिपाएर सभाकक्षमा अनुपस्थित भएका खरेल, केसी र बम तीनै जना सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्।
प्रतिनिधिसभामा सभामुखले सांसदलाई बोल्नका लागि तीनपटकसम्म नाम बोलाउने अभ्यास छ। तीनपटकसम्म बोलाउँदा पनि सम्बन्धित सांसद उपस्थित नभएमा उनको समय समाप्त गरी अर्को सांसदलाई बोल्ने अवसर दिइन्छ वा सदनको कार्यसूची अघि बढाइन्छ।
प्रतिनिधिसभा नियमावलीको नियम १५ मा शून्य तथा विशेष समयसम्बन्धी व्यवस्था गरिएको छ। समसामयिक विषय प्रस्तुत गर्न सभामुखले शून्य तथा विशेष समय तोक्न सक्ने व्यवस्था नियमावलीमा छ।
त्यस्तै, अघिल्लो बैठक र सुरु हुन लागेको बैठकबीचको अवधिमा भएको गम्भीर प्रकृतिको घटना वा विषयमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ‘ढ्यापढ्याप’ गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्ने व्यवस्था छ।
आकस्मिक, शून्य तथा विशेष समयमा उठाइएका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने व्यवस्था रहेको छ। तर, बोल्नका लागि नाम टिपाएका सांसद नै सभाकक्षमा अनुपस्थित हुने क्रम भने प्रतिनिधिसभामा दोहोरिँदै आएको छ।
प्रतिक्रिया