वडाअध्यक्ष तन्डुकारद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

विहीबार, २६ कार्तिक २०८३, ११ : ४२

काठमाडौं- तिहार, म्हःपूजा, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा काठमाडौं महानगरपालिका–११ का वडा अध्यक्ष हिरालाल तन्डुकारको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय अगुवा तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

समाजसेवीसमेत रहेका वडा अध्यक्ष तन्डुकारले हरेक वर्ष प्रमुख चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् । नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा कलाकारहरूले परम्परागत देउसी–भैलो प्रस्तुत गरेका थिए । देउसी–भैलोले कार्यक्रममा सांस्कृतिक रौनक थपेको थियो । वडा अध्यक्ष तन्डुकारले देउसी–भैलो टोलीलाई आर्थिक सहयोगसमेत गरेका थिए ।

त्यसैगरी, कार्यक्रममा नेवारी समुदायका परम्परागत परिकारसहितको खानपानको व्यवस्था गरिएको थियो । सहभागीहरूले सांस्कृतिक प्रस्तुति, आपसी भेटघाट र शुभकामना आदानप्रदान गर्दै पर्वको खुसी साटासाट गरेका थिए ।

दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको कार्यक्रममा तिहार, म्हःपूजा, नेपाल संवत् ११४७ र छठ पर्वले नेपाली समाजमा आपसी एकता, भाइचारा, सद्भाव र सांस्कृतिक सहिष्णुतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको थियो । विभिन्न समुदायका चाडपर्वले सामाजिक सम्बन्ध र सांस्कृतिक विविधतालाई जोड्ने भएकाले यस्ता कार्यक्रमले सामुदायिक एकता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

विहीबार, २६ कार्तिक २०८३, ११ : ४२

प्रतिक्रिया