काठमाडौं- मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको २१ औं वार्षिक साधारणसभा पुस ४ गते बस्ने भएको छ । बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित सभा बोलाउने निर्णय गरेको हो ।
साधारणसभा सुनसरी उद्योग वाणिज्य संघ, धरान–१ मा बिहान १० बजे शुरु हुनेछ। सभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हाल कायम चुक्ता पूँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको ६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।
प्रस्तावित ६ प्रतिशत नगद लाभांशबापत ७ करोड ३० लाख २६ हजार रुपैयाँ वितरण गरिनेछ । त्यस्तै ५ प्रतिशत बोनस सेयरबापत ६ करोड ८ लाख ५५ हजार रुपैयाँ बराबरका बोनस सेयर जारी गर्ने प्रस्ताव छ। नगद लाभांश तथा बोनस सेयरमा लाग्ने करसमेत नगद लाभांशबाटै हुनेछ।
सभामा बैंकको अधिकृत पूँजी वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पेस हुनेछ । यसका लागि बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजीमा हुने परिवर्तनअनुसार प्रबन्धपत्रको सम्बन्धित दफाहरू संशोधन गर्ने प्रस्तावसमेत रहेको छ ।
त्यसैगरी बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने तथा गाभिने प्रक्रिया अघि बढाउने प्रस्ताव पनि सभामा लैजाने भएको छ । मर्जरसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति तथा मर्जर समितिलाई अख्तियारी दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव गरिएको छ।
प्रतिक्रिया