अमेरिकामा ५० डलरको सामान चोरेका एक व्यक्ति ३६ वर्ष जेल बसेपछि छुटे

शनिबार, १४ भदौ २०७६, १७ : २०

एजेन्सी –  अमेरिकाको अलावामा राज्यका एक जना न्यायाधीशले ५०.७५ डलर मूल्यको बेकरी चोरेको आरोपमा जन्म–कैद पाएका एक व्यक्तिलाई रिहा गर्न आदेश दिएका छन् । 

५८ वर्षका अल्भिन केन्नार्डलाई सन् १९७०को दशकमा ल्याइएको ‘दोहोर्याएर अपराध गर्दा कडा सजायँ हुने’ कानुन अन्तर्गत त्यति कठोर सजायँ दिइएको थियो । 

केन्नार्डलाई रिहा गर्ने निर्णयलाई उनका परिवार र मित्रले स्वागत गरेका छन् । 

केन्नार्डको तर्फबाट वकालत गरेकी वकिल कार्ला क्रोडरका अनुसार केन्नार्डले अब नयाँ अवसरको लागि तयारी गर्ने बताएका छन् ।    

‘केन्नार्ड उनको परिवारमा फर्किनेछन् र सम्भवत उनले आफ्नो पुरानो पेसा सिकर्मी सुरु गर्नेछन् ,’ क्रोडरले गार्जियन पत्रिकासँग भनिन् ।

केन्नार्ड सन् १९८३ मा चक्कु देखाएर बेकरी लुटपाट गरेको घटनामा पक्राउ परेका थिए । त्यो समय उनी २२ वर्षका थिए । 

लुटपाटको समयमा कसैलाई चोट पटक नलागेको भए पनि उनलाई प्यारोल(पुनरविचार सुनुवाई) समेत नहुने गरी जन्म–कैदको सजायँ सुनाइएको थियो । 

त्यस अघि पनि उनी एउटा चोरीको घटनामा दोषी पाइएका थिए । त्यसपछि केही समयको अन्तरालमा अपराध दोहा¥याएको भन्दै उनलाई ‘ओल्ड ह्याविचुअल फेलोनी अफेन्डर एक्ट’ अन्तर्गत सजायँ दिइएको थियो ।  
अहिले यस कानुनमा प्यारोलको व्यवस्था हुने गरी परिवर्तन गरिएको छ । 

कैदीको पहिरनमा अदालतमा उपस्थित भएका केन्नार्डले आफ्नो गल्तीको सम्पूर्ण जिम्मेबारी लिने बताए । 

उनलाई मुक्त गर्ने निर्णय गर्दा अदालतमा उपस्थित उनका परिवारका सदस्य तथा साथीहरु खुसीले उफ्रिएका थिए ।
 

शनिबार, १४ भदौ २०७६, १७ : २०

प्रतिक्रिया