उत्पादन घटेपछि आफ्नै जलविद्युत आयोजना लिलाम गरिदिन सरकारसँग हारगुहार

मंगलबार, १७ भदौ २०७६, १२ : ३८

नीजि क्षेत्रका जलविद्युत प्रवद्र्धकहरुले आफैले बनाएका आयोजना लिलाम गर्न भन्दै सरकारसँग हारगुहार गर्न थालेका छन् ।

खोला सुकेर प्रक्षेपण अनुसारको विद्युत उत्पादन हुन छाडेपछि आफ्नै आयोजना लिलामी गर्न लगानीकर्ताले हारगुहार गरेका हुन् । 

अति समस्याग्रस्त २० जलविद्युत आयोजनाका प्रवद्र्धकले आयोजना लिलामीका लागि उर्जा मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।

१ मेगावाट भन्दा साना देखि १० मेगावाटसम्मका ति आयोजना कूल ७० मेगागाट विद्युत उत्पादन गर्ने आयोजना हुन् ।  

सिन्धुपाल्चोकको चाकुखोला, मध्य चाकु, तल्लो चाकु, बरमची खोला, माथिल्लो हाडीखोला, भैरव कुण्ड र झ्याडी खोला, ललितपुरको तुङगुङ थोस्ने र खानीखोला, दोलखाको सिप्रिङ खोला र चर्नावतीखोला, संखुवासभाको तल्लो पिलुवा र हेवा खोला, बाग्लुङ्गको दरमखोला ए र ठउले खोला, धादिङको थप्पल खोला, ओखलढुङ्गाको मेलुङखोला, गोरखाको दरौदी खोला ए, लमजुङको सिउरी खोला र ताप्लेजुङको फवाखोला आयोजना रहेका छन् ।  

ति आयोजनामा सुरुवाती केही वर्ष प्रक्षेपण गरेअनुसारकै विद्युत उत्पादन भएपनि अहिले विद्युत उत्पादन गर्न नसकेका कारण नेपाल विद्युत प्राधिकरणले जरीवाना लगाइरहेको छ। कम विद्युत उत्पादन भएपछि विद्युत बेचेर आउने पैसा पनि प्राधिकरणलाई जरीवाना तिर्दै ठिक्क हुने उनीहरुको गुनासो छ । 

बैंकको ब्याज र कर्मचारीलाई तलव, आयोजनाको सञ्चालन, मर्मत सम्भार खर्च तिर्न नसक्ने अवस्थामा परगेकोले लिलामीका लागि गुहार गरेको प्रवद्र्धकहरु बताउँछन् । 

नेपालमा निजी क्षेत्रले ११ वटा १० मेगावटा भन्दा ठूला र ७० वटा साना गरी ८१ वटा जलविद्युत आयोजना निर्माण गरेका छन् । जसबाट  ५६० मेगावाट विद्युत उत्पादन हुने गर्दछ ।

अहिले ति मध्ये २० वटा अतिसमस्याग्रस्त रहेको र अन्य ६६ आयोजनामा पानी घटबढको समस्या रहेको रुग्ण आयोजना संघर्ष समितिका अध्यक्ष सूर्य प्रसाद अधिकारीले बताए । 

शुरुमा आयोजनाको छनौट र अध्ययन नै गलत भएकोले ती आयोजना समस्यामा परेको प्राधिकरणका कर्मचारीहरु बताउँछन् । 

तर मौसम परिवर्तन र भूकम्पका कारण साना आयोजनामा बढी क्षतिभएको प्रवर्द्धकहरुको दावी छ । 
 

मंगलबार, १७ भदौ २०७६, १२ : ३८

प्रतिक्रिया