अमेरिका र चीनबीच १३ औं चरणकाे व्यापार वार्ता हुने

विहीबार, १९ भदौ २०७६, १४ : ३५

अमेरिका र चीनबीच अक्टोबरको पहिलोसाता फेरी ब्यापार वार्ता हुने भएको छ । 

व्यापारिक संघर्ष चर्किरहेका बेला अमेरिकाको वासिंगटनमा १३औं चरणको वार्ता हुने भएको हो । 

यसअघि गत जुलाईको अन्त्यमा चीनको संघाईमा भएको १२औं चरणको वार्ता विफल भएपछि यी दुवै मुलुकले एकअर्का विरुद्ध भन्सार थपको घोषणा गरेर व्यापारिक द्वन्दलाई चर्काउँदै लगेका छन्।

चिनियाँ वार्ताकार लिउ ह र अमेरिकी व्यापार प्रतिनिधिबीच बिहीबार बिहान टेलिफोनमा  अक्टुबरको पहिलो सातातिर वार्ता आयोजना गर्ने सहमति भएपनि मिति भने निश्चित गरिएको छैन।

अमेरिकी पक्षको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनीतिक ब्युरोका सदस्य, चीनका उपप्रधानमन्त्री लिउ हले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर र अर्थमन्त्री स्टेभेन नुचिनसंग  टेलिफोन वार्ता गरेका थिए । 

गत सेप्टेम्बरको १ तारिखमा अमेरिकी भन्सार करका विरुद्ध चीनले विश्व व्यापार संगठनमा उजुरी हालेको छ। चीनले विश्व व्यापार संगठनको विवाद निरूपण प्रणालीका आधारमा अमेरिकाविरुद्ध उजुरी हालेको दाबीण् गरेको छ। 

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानको ओसाकामा भएको वार्तापछि व्यापारिक युद्धविराम भएको थियो। तर संघाई वार्ता बिना निष्कर्ष टुंगिएसँगै अमेरिकाले चीनबाट आयात हुने सामग्रीमा भन्सार कर थपेर पुनः व्यापारिक संघर्षलाई निरन्तरता दिएको थियो। चीनले पनि सोही बमोजिम भन्सार कर थपेपछि स्थिति जटिल बन्दै गएको हो।

विहीबार, १९ भदौ २०७६, १४ : ३५

प्रतिक्रिया