बेलायती प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नै प्रश्न

बुधबार, ०८ असोज २०७६, २१ : ०१

लण्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सांसदहरूले संसद् निलम्बनका बारेमा प्रश्नै प्रश्न गरेका छन् । 

    संसद् निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको निर्णय गैरकानुनी भएको फैसला बेलायती सर्वाेच्च अदालतले सुनाएको भोलिपल्ट बसेको संसद् बैठकमा सांसदहरूले प्रश्नै प्रश्न गरेका हुन् । 

    अदालतको फैसलापछि संयुक्त राष्ट्रसङ्घको महासभाका लागि तय गरेको भ्रमण छोट्याएर स्वदेश फर्किनु भएका प्रधानमन्त्री जोनसनले सांसदहरूको प्रश्नहरूको सामना गर्नुपरेको हो ।

    सांसदहरूले प्रश्न गर्नेक्रममा प्रधानमन्त्री गैह्रजिम्मेबार भएको, गलत बाटोतर्फ गइरहेको, आफ्नो निर्णय गलत भएकाले राजीनामा दिनुपर्नेलगायतका विषयलाई उठाएका छन् । 

    सांसदहरूले राजीनामाको विषयलाई धेरै उठाए पनि प्रधानमन्त्री जोनसनले भने तत्काल राजीनामा दिने संभावना नरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

    उहाँका सहयोगीहरूले पनि जोनसनले राजीनामा नदिने र ब्रेक्जिटसम्बन्धी आफ्ना योजनामा उहाँ यथावत रहेको जनाएका छन् ।

    उनीहरूले संसद् निलम्बन गर्ने सरकारको निर्णयको बचाउ गरेका छन् । ब्रेक्जिट अघिको पाँच हप्ता संसद् निलम्बन गर्ने विषय कानूनसम्मत नै रहेको उनीहरूको दाबी छ । 

    उनीहरूले अदालतको फैसलाको सम्मान गर्ने तर त्यसमा असहमति भने रहेको बताएका छन् । 

    संसद् निलम्बन गर्दा सरकारलाई जवाफदेही बनाउने अधिकारबाट सांसदहरू वञ्चित हुने भन्दै सर्वोच्च अदालतका ११ जना न्यायाधीशले निलम्बनको विपक्षमा सर्वसम्मत फैसला गरेका छन् ।

    अदालतको फैसलापछि ब्रेक्जिटका लागि युरोपेली सङ्घसँग गर्नुपर्ने प्रधानमन्त्री जोनसनको बाँकी प्रक्रियालाई थप जटिलता थपिएको छ । 

    हतारहतार न्यूयोर्कबाट स्वदेश फर्किएका प्रधानमन्त्री जोनसनले पनि सांसदहरूको प्रश्नको जवाफ दिने तयारी गर्नुभएको छ । 

बुधबार, ०८ असोज २०७६, २१ : ०१

प्रतिक्रिया