अमेरिकाको दबाबका कारण संकटमा गुज्रिरहेको हुवावेको आम्दानीमा २४ प्रतिशत वृद्धि

बुधबार, २९ असोज २०७६, १४ : ५०

चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४ दशमलव ४ प्रतिशतले वृद्धि भएको कम्पनीले बताएको छ ।     

अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महीनाको अवधिमा वृद्धि भएर करीब ८६ अर्ब डलर पुगेको छ । कम्पनीले आफ्नो नाफामा पनि ८ दशमलव ७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।     

 सुरक्षाको कारण देखाउँदै अमेरिकी प्रशासनले हुवावेका टेलिकम उपकरण प्रयोग नगर्न यसवर्ष विश्वव्यापी पहल र प्रचार गरेको थियो । 

गत मे महीनामा हुवावेलाई अमेरिकी बजारमा कालोसूचीमा राख्नुका साथै अमेरिकी कम्पनीका उच्च प्रविधियुक्त सामान हुवावेलाई विक्री नगर्न दबाब दिएको थियो ।  

संयुक्त राज्य अमेरिकाले हुवावेका सामान मार्फत चीनले गोप्य सूचनाहरु संकलन गर्न सक्ने भन्दै गम्भीर चासो र चिन्ता व्यक्त गरेको थियो ।  अमेरिकाले हुवावेका उत्पादनमा व्यापक कमी कमजोरी रहेका र ती भरोसायोग्य नरहेको बताउँदै आएको छ ।  तर हुवावेले भने अमेरिकी दाबीको निरन्तर खण्डन गरिरहेको छ ।     
     
कम्पनीले जारी गरेको पछिल्लो विज्ञप्तिमा भनिएको छ, ‘हुवावेले केबल सूचना प्रविधिको पूर्वाधार र स्मार्ट उपकरण निर्माणमा ध्यानकेन्द्रित गरेको छ, र त्यसलाई अझ गुणस्तरीय एवं परिस्कृत गर्नेतर्फ विशेष जोड दिइरहेको छ,यिनै कारणले कम्पनीले सन् २०१९ को नौ महीनाको अवधिमा निकै उचाई प्राप्त गरेको छ र निरन्तर विश्वको विश्वास जित्दै गएको छ ।’ 

बुधबार, २९ असोज २०७६, १४ : ५०

प्रतिक्रिया