बाघलान प्रान्तको एक जिल्ला पुनः सरकारको नियन्त्रणमा

विहीबार, ०७ कार्तिक २०७६, १३ : ५३

 अफगानिस्तानमा अफगान सुरक्षाबल (एएनडीएसएफ) ले उत्तरी प्रान्त बाघलानको घोरी जिल्ला पुनः नियन्त्रण्मा लिएको अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 

बाघलान प्रान्तको घोरी जिल्लामा जारी राखेको सैन्य कारबाहीको क्रममा सो जिल्ला मुक्त भएको बताइएको छ । तीन वर्ष अगाडि उक्त जिल्ला तालिबान लडाकू समूहले कब्जामा लिएको जारी विज्ञप्तिमा जनाइएको छ । 

यस कारबाहीको क्रममा तालिबान लडाकूहरु हताहत भएका तर यसको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ । 
 बाघलान प्रान्तमा तालिबान लडाकूलक्षित कारबाही जारी नै रहने सैनिक स्रोतले जानकारी दिएको छ । बाघलान प्रान्तको पश्चिमी भागको जिल्लाहरुमा पनि तालिबान लडाकूविरुद्ध कारबाही जारी रहेको जनाइएको  छ । 

राजधानी काबुल शहर करिब  १ सय ६० किलोमिटर उत्तरमा रहेको यो प्रान्तमा लामो समयदेखि तालिबान लडाकू र सुरक्षाबलबीच झडप जारी रहेको छ । 

सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएपछि  यस जिल्लाका कानूनी शासन फिर्ता हुनको साथै सरकारी कार्यालयहरू र स्थानीय प्रहरी चौकी पुनः खोलेको विज्ञप्तिमा बताइएको छ । 

अफगान सुरक्षाबलले बाघलान प्रान्तमा तालिबानी लडाकूविरूद्धको सुरक्षा अभियानलाई तीव्र बनाएको छ । सो जिल्लामा सक्रिय रहेका तालिबानी लडाकू समूहले भने यस विषयमा कुनै टिप्पण्ी गरेका छैनन् । 

विहीबार, ०७ कार्तिक २०७६, १३ : ५३

प्रतिक्रिया