उत्तरी सिरियामा स्लामिक स्टेट(आइसिस)का प्रमुख अबु बकर अल बग्दादीलाई अमेरिकी कमान्डोहरूले मारेको आंशका गरिएको छ।
अमेरिकी पत्रिका न्यूजविकले अमेरिकी सैन्य श्रोतलाई उद्धृत गर्दै बग्दादी मारिएको दाबी गरेको छ। अन्य धेरै समाचार श्रोतले पनि पछिल्लो २४ घन्टामा बग्दादी मारिएको हुन सक्ने जनाएका छन्।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले नेपाली समयअनुसार आइतबार साँझ अमेरिकी राष्ट्रपतिले महत्वपूर्ण जानकारी गराउने बताएका छन्। स्वयं राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शनिबार राती ट्विटमा भनेका छन्, ‘एउटा ठूलो घटना भर्खरै भएको छ।’
राष्ट्रपति ट्रम्पले उत्तरी सिरियामा विशेष सैन्य अपरेशन गर्ने अनुमति दिएको सञ्चारमाध्यमले जनाएका छन्। सोही अपरेशनमा बग्दादी मारिएको दाबी गरिएको छ।
गत वर्ष रसियाली सेनाले आफ्नो आक्रमणमा बग्दादी मारिएको दाबी गरेको थियो। रसियाली सेनाको सो दाबीलाई गलत सावित गर्दै वैशाखमा बग्दादी एक भिडिओमार्फत सार्वजनिक भएका थिए।
भिडिओमा उनले सिरियामा मारिएकाहरूको बदलाका रूपमा ८ देशमा दर्जनौं आक्रमण गरेको बताएका छन्। साथै सिरियामा गुमाएको भूभागको बदला लिने भनाइ राखेका छन्।
उनी सन् २०१४ यता देखिएका थिएनन्। सार्वजनिक भएको भिडिओमा बागुजमा आफूहरू पराजित भएको उनले स्वीकार गरेका थिए।
प्रतिक्रिया