मोदी र शाह महाभारतका कृष्ण र अर्जुन हुन् : नेता अग्रवाल

बुधबार, २० कार्तिक २०७६, ११ : २८

भाजपाका एक जना नेताले मङ्गलबार दिल्ली र त्यस वरपर क्षेत्रमा देखिइरहेको प्रदुषण पाकिस्तान र चीनले गराएको बताएका छन् । उनले दुईमध्ये कुनै छिमेकीले भारततर्फ विषालु ग्यास छाडेको पनि आरोप लगाए ।

‘जुन विषालु ग्यास आइरहेको छ । यो हामीसँग भयभित कुनै छेउका देशले छोडिरहेको हुनसक्छ । मलाई लाग्छ पाकिस्तान र चीन हामीसँग भयभित छन् ,’ भाजपा नेता विनीत अग्रवाल शारदाले भने ।

‘पाकिस्तानले कुनै विषालु ग्यास छाडे नछाडेको सम्बन्धमा हामीले गम्भीरताका साथ सोच्नुपर्छ,’ उनले थपे ।

विनितले पाकिस्तान मोदी र अमित शाहले सरकारको कमान सम्हालेदेखि दुःखी रहेको र त्यस कारणले भारतविरुद्ध सबै खालको रणनीति प्रयोग गरिरहेको बताए ।

‘भारतसँगका सबै युद्धमा पाकिस्तानले हार बेहोरेको छ । नरेन्द्र मोदी र अमित शाह आएदेखि त पाकिस्तान हैरान छ,’ उनले भने ।

विनितले पराल जलाउने कार्यले प्रदुषण गराएको भनेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको आलोचना गरेका छन् ।

‘दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालजस्ता मानिस पराल जलाएर वा औद्योगिक उत्सर्जनबाट प्रदुषण भएको बताइरहेका छन् । किसान हाम्रो देशका मेरुदण्ड हुन् । किसान र उद्योगहरुलाई दोष लगाउनु हुँदैन ।’

भाजपा नेता शारदाले मोदी र शाहलाई महाभारतको कृष्ण र अर्जुनसँग तुलना गर्दै दुई नेता जुनसुकै समस्याको समाधानको लागि सक्षम भएको बताए ।

‘यो कृष्ण र अर्जुनको समय हो । कृष्णका रुपमा मोदी र अर्जुनका रुपमा शाहले सबै सम्हाल्नेछन्,’ उनले भने ।

बुधबार, २० कार्तिक २०७६, ११ : २८

प्रतिक्रिया