चालिस जना पक्राउ

आइतबार, ०१ मंसिर २०७६, १६ : ०४

इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन् । 

इरानी समाचार संस्था इस्नाले जनाए अनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । 

प्रदर्शनका क्रममा अरु केही घाइते पनि भएको जनाएको छ । अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इरानी अर्थ व्यवस्था संकटमा छ । 

इरान सरकारले हरेक महिना पहिलो ६० लिटरसम्म पेट्रोल खरीद गर्दा ५० प्रतिशत र सोभन्दा बढी पेट्रोल खरिद गर्दा ३०० प्रतिशत मूल्यवृद्धि गर्ने घोषणा गरेको छ । 

इरानी राष्ट्रपति हसन रौहानीले शनिबार झण्डै ७५ प्रतिशत इरानी जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट संकलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिएका थिए । 

रौहानीले गत वर्ष डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने प्रयास गरेका थिए, तर सर्वसाधारणको विरोधका कारण संसदले यो प्रस्तावलाई अस्वीकृत गरेको थियो । 

आगामी फेब्रुअरीमा संसदीय निर्वाचन हुने तय भइसकेका बेला यो मूल्यवृद्धि गरिएको हो ।

आइतबार, ०१ मंसिर २०७६, १६ : ०४

प्रतिक्रिया