प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज केहीबेरपछि बस्ने बैठकमा हुँदैछ ।
सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण छन्।
यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । सो दिनको बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराएका थिए ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुव्र्यवहारको विवादमा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा छन्। सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ । गत पुस ४ गते शुरु भएको सङ्घीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुख रिक्तता र त्यसमा राजनीतिक सहमतिमा ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो ।
प्रतिक्रिया