छ हजार धरौटीमा छुटे दिपक मनाङे

आइतबार, १२ माघ २०७६, १८ : ३३

अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको अभियोगमा जेल परेका गण्डकी प्रदेशका सांसद राजीब गुरुङ उर्फ दीपक मनाङे छ हजार धरौटीमा रिहा भएका छन् ।

मनाङेबाट कुटिएका मिलनले गएको माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा कुटपिटको उजुरी दिएपछि ९ माघमा मनाङे पक्राउ परेका थिए ।

उनीमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । जिल्ला प्रशासन कार्यालयले आइतबार उनलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

गण्डकी प्रदेशमा पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटनपूर्व मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका थिए ।

मनाङेले झापड हानेको पत्रकार सम्मेलन गरेर स्वीकार समेत गरेका थिए ।

मिलन गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

जिल्ला फुटवल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ पनि बैकिङ कसुरको ठगी सम्बन्धि मुद्दामा हिरासतमा छन् ।

उनलाई थप एकहप्ताका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

उच्च अदालत पोखराले प्रहरीलाई थप अनुसन्धान गर्न १० गतेबाट लागू हुने गरि थप एक हप्ताको म्याद दिएको उच्च अदालत पोखराका सुचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।

गुरुङलाई विरुद्ध जिल्ला प्रहरी कार्यलयमा बैकिङ कसूरको उजुरी परे थियो ।

१० गते पोखराबाट पक्राउ परेका गुरुङको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए । ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार, १२ माघ २०७६, १८ : ३३

प्रतिक्रिया