प्रतिनिधिसभा बैठकः समिति सदस्यको नामावाली हेरफेर

शुक्रबार, १७ माघ २०७६, १३ : ५८

प्रतिनिधिसभाको आजको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ । 

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको नाम हेरफेर गरेका हुन । 

गोकर्णराज विष्ट र पदम गिरी संघीय संसद्को अर्थ समिति, शिवमाया तुम्बाहाङफे र मायादेवी न्यौपाने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, मात्रिकाप्रसाद यादव र रामकुमारी चौधरी कानून न्याय तथा मानवअधिकार समितिमा रहने भएका छन । 

यस्तै थममाया थापा महिला तथा समाजिक समिति, लालबाबु पण्डित राज्यव्यवस्था तथा सुशासन समिति, विद्या भट्टराई शिक्षा तथा स्वास्थ्य समिति, चक्रपाणि खनाल, रघुवीर महासेठ र धनबहादुर बुढा सार्वजनिक लेखा समितिमा रहनेछन । प्रस्तावित नामलाई बैठकले सहमति जनाएको थियो । 

कार्यव्यवस्था परामर्श समितिमा प्रभू साह

त्यस्तै बैठकले कार्यव्यवस्था परामर्श समितिको सदस्यको नाम पनि हेरफेर गरेको छ । 

रामेश्वर राय यादवको ठाउँमा प्रभु साहको नाम हेरफेर गर्ने सभामुखको प्रस्तावलाई बैठकले सहमति जनाएको थियो । सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम परामर्श समितिको सदस्यको नामावली हेरफेर गरेका छन । 

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।

यस्तै सचिव योगीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक, २०७६’ र ‘सङ्घ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक, २०७६’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक बैठकमा टेबुल गरेका थिए ।
 

शुक्रबार, १७ माघ २०७६, १३ : ५८

प्रतिक्रिया