ललिता निवास जग्गा प्रकरण: ‘दोषीलाई कारवाही हुनुपर्छ, निर्दोष फस्नु हुन्न’

विहीबार, २३ माघ २०७६, १७ : ५२

सांसदहरुले ललिता निवासको जग्गा प्रकरणमा कोही दोषी उम्कन नहुने र निर्दोष फस्न नहुनेमा जोड दिएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसदहरुले उक्त विषयमा गम्भीर हुनुपर्नेमा जोड दिएका छन ।
 
समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा छानबिन गरेर दोषीलाई कारवाही हुनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताउँदै निर्दोष व्यक्ति फस्न नहुनेमा जोड दिए । 

डा भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन प्रक्रिया गलत रहेको जिकिर गर्दै ऐन, कानून परिणाममुखी नभई प्रक्रियामुखी रहेको जिकिर गरेका छन । 

प्रक्रियागत त्रुटिका कारण गल्ती नगरेको मानिस फस्ने र गल्ती गरेको मानिस उम्कने सम्भावना रहेको उनको भनाइ छ । उनले अख्तियारले मुद्दा दायर गर्नु स्वागतयोग्य भएको प्रतिक्रिया दिए ।

“नियतवश भ्रष्टाचार गरेको छ, जालझेल गरेर नीति–निर्माणमा असर गरी प्रत्यक्ष लाभ लिएको मान्छे उम्केको र परिवन्धवश परेका मान्छे कारवाहीमा परेको देखिन्छ, यसले न्याय गर्दैन गम्भीरतापूर्वक हेर्नुपर्छ”, डा भट्टराईले थपे । उनले आफ्नै मन्त्रिपरिषद्का मन्त्री चन्द्रदेव जोशी पनि परेकाले उनले भ्रष्टाचार गरेको भन्नेमा विश्वास गर्न नसकिने बताए ।

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले निष्पक्ष निर्णय गर्नुपर्नेमा सरकारको दबाबका कारण अख्तियारले राजनीतिक पूर्वाग्रहको आधारमा निर्णय गरेको जिकिर गरे । 

प्रधानमन्त्रीको स्वीकृति र सहमतिमा पारित हुने विषयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर अरु मन्त्रीलाई मुद्दा लगाउनु गलत रहेको उनको भनाइ थियो ।

 “केही जग्गावालालाई मुद्दा लगाइएको छ, केहीले जग्गा फिर्ता गरेकै आधारमा नलगाएको भनिएको छ, यो ठिक भएन, अब पार्टीले राजनीतिक र कानुनीरूपमा सामना गर्ने छ”, खाँडले भने । 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता लालबाबु पण्डितले ठूलादेखि नै कारवाही प्रक्रियाको शुरुआत भएको उल्लेख गर्दै संसद्मा अवरोध पु¥याउने कुरा प्रजातान्त्रिक प्रणाली मान्ने राजनीतिक पार्टीका निम्ति सुहाउँदो नभएको उल्लेख गरेका छन

दोषी कुनै व्यक्तिले पनि छुट पाउन नहुने भन्दै उहाँले अदालतले उचित निर्णय गर्ने बताए । 

उनले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फरक नदेख्नु नै दृष्टिदोष हो भने । 

विहीबार, २३ माघ २०७६, १७ : ५२

प्रतिक्रिया