पश्चिम तराई बन्द : जनजीवन अस्तव्यस्त

मंगलबार, २० फागुन २०७६, १२ : ५८

थारुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दका कारण पश्चिम तराईको जनजीवन प्रभावित हुन पुगेको छ । 

सरकारसँग १४ बुँदे माग राख्दै मोर्चाले सरकारलाई दबाव दिन कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ बन्दको घोषणा गरेको थियो । 

बन्दका कारण धनगढीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चल्न सकेका छैनन् भने सरकारी कार्यालय, शैक्षिक संस्था, बजार तथा उद्योग कलकारखानामा समेत बन्दको प्रभाव परेको छ ।

बन्दका कारण भारत लगायत विभिन्न ठाउँबाट आएका यात्रुहरु धनगढी बसपार्कमा अलपत्र परेका छन् ।

पूर्व पश्चिम राजमार्गमा स्कटिङबाट गाडी चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै मोर्चाले फागुन १ देखि आन्दोलनसरु गरेको हो । 

मंगलबार, २० फागुन २०७६, १२ : ५८

प्रतिक्रिया