ट्रेड युनियनको भूमिकामा जोड

मंगलबार, २० फागुन २०७६, १६ : ५५

श्रममैत्री नीतिनिर्माण तथा कार्यान्वयनमा ट्रेड युनियनको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले ११०औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताले पछिल्लो समय श्रम क्षेत्रमा प्राप्त भएका सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, सामाजिक न्याय र समान कार्यका लागि समान अधिकारलगायत विषय ट्रेड युनियन आन्दोलनका उपलब्धि भएको विचार व्यक्त गरे । 

केन्द्रका पूर्वअध्यक्ष विनोद श्रेष्ठले रोजगारदाता संस्थाले श्रमिकसम्बन्धी कुनै पनि नागरिकलाई रोजगारी तथा बेरोजगारविरुद्ध संरक्षणका लागि भत्ता उपलब्ध गराउने कानूनी व्यवस्था ट्रेड आन्दोलनको उपलब्धि भएको धारणा राखे । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुस्कर आचार्यले कामदारलाई उपलब्ध गराउने तलब, बिदा, आरामलगायत सुविधाले सम्बन्धित संस्थाको उत्पादकत्वमा वृद्धि ल्याउने हुँदा दुवै पक्ष लाभान्वित हुने बताए। 

समाजवादी ट्रेड युनियन महासङ्घका प्रतिनिधि सोनाम शाक्यले कार्यस्थलमा हुने लैङ्गिक हिंसा तथा दुव्र्यवहारलाई न्यूनीकरण गर्नका लागि सरकारी पक्ष, श्रमिक र रोजगारदाताबीच समन्वयको खाँचो औँल्याए । अधिवक्ता विष्णु बस्यालले कार्यक्षेत्रमा हुने हिंसा र दुव्र्यवहारसम्बन्धी महासन्धि नेपालले पनि अनुमोदन गर्नुपर्ने  आवश्यकतामा जोड दिए । 

मंगलबार, २० फागुन २०७६, १६ : ५५

प्रतिक्रिया