महिलाको नेतृत्वमा विद्यालय

विहीबार, २२ फागुन २०७६, १५ : ५९

 समाजमा हरेक क्रियाकलापमा महिलालाई कमजोर मान्ने गरिन्छ । तर प्यूठानको ऐरावती गाउँपालिका–५ दामाचौरमा रहेको अमरज्योति प्राथमिक विद्यालय महिलाकै नेतृत्वमा सञ्चालनमा छ । विसं २०४६ चैत ५ गते स्थापना भएको विद्यालयमा २०७५ माघ महिनादेखि ललिता थापाले विद्यालयको प्राधानाध्यापकका रुपमा काम गर्दै आएकी छन । 

त्यसयता विद्यालय महिलाकै नेतृत्वमा सञ्चालनमा रहेको हो । विद्यालयमा प्रार्थनाका लागि घण्टी बजाउने पनि महिला नै रहेकी छन । विद्यालयमा प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक, अन्य कर्मचारी र कार्यालय सहयोगी महिला आएपछि विद्यालयको शिक्षण सिकाइ प्रभावकारी बन्दै गएको छ ।

विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धि, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको समन्वयले विद्यालय नमूना बन्न थालेको छ । प्रधानाध्यापक भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै रहेको विद्यालयका प्रधानाध्यापक थापाले बताइन । विद्यालयलाई शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धमार्फत शिक्षण सिकाइ प्रभावकारी बनाउँदै लगेको उनको भनाइ छ ।     हाल विद्यालयमा प्रअसहित सात शिक्षिका छन् भने जसमा तीनजना दरबन्दीमार्फत, दुई निजी स्रोत, एक बालविकासका लागि र एक  विद्यालय कर्मचारीसहित सबै महिला रहेका उनले बताइन । 

भौतिक संरचना अभाव

सो विद्यालयमा भौतिक संरचना जीर्ण अवस्थामा रहेका कारण सबैभन्दा पहिले भौतिक संरचना निमार्णको काम गर्नुपर्ने उनले बताइन । अहिले गाउँपालिकामार्फत रु १६ लाखको लागतमा दुईकोठे भवन निमार्ण हुन थालेको उनले जानकारी दिइन । गाउँमा बालवालिकाको सङ्ख्या नै कम भएका कारण विद्यालयमा जम्मा ३८ विद्यार्थीले अध्ययन गरिरहेका उनको भनाइ छ । विद्यालयलाई बालमैत्री, नमूना विद्यालय बनाउने आफूहरुको प्रमुख लक्ष्य रहेको उनको भनाइ छ । विद्यालयमा हुने प्रार्थना, अतिरिक्त क्रियाकलाप, साहित्य जस्ता विविध क्रियाकलापको जिम्मेवारीअनुसार सबै शिक्षक साथीले काम गरेको बताइन। 

विद्यालय व्यवस्थापन समितिमा पनि महिला

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घमा महिला मात्रै रहेको उनले बताइन । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा माधवा जिसी रहेकी छन भने सदस्यहरुमा जानका साही, कल्पना थापा, मधु खड्का, सरिता थापा, विष्णा थापा, तारा नेपाली, अर्चना पौडेल र ललिता थापा रहेका छन । यसैगरी शिक्षक अभिभावक सङ्घको अध्यक्षमा निर्मला थापा रहेकी छन भने सदस्यमा अन्जिला थापा, माधवा जिसी, कमला नेपाली, तारा थापा, लक्ष्मी विक, खुमा नेपाली, कमला विक र ललिता थापा रहेका जनाइएको छ ।

माण्डवीमा ३३ प्रतिशत बजेट शिक्षामा 

माण्डवी गाउँपालिकाले शिक्षा क्षेत्रमा नमूना काम गरेको छ । अघिल्लो वर्षदेखि शिक्षा क्षेत्रमा बजेटको स्तर समेत वृद्धि गरी शिक्षाको गुणस्तर बढाइएको हो ।  गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाको कूल बजेटमध्य ३३ प्रतिशत बजेट शिक्षामा विनियोजन गरेकोे छ ।  वित्तीय समानीकरणको रु एक करोड र वित्तीय समानीकरणतर्फ रु १० करोड गरी रु ११ करोड बजेट शिक्षामा विनियोजित भएको हो । शिक्षा क्षेत्रमा नमूना गाउँपालिका बनाउन विभिन्न शैक्षिक योजना बनाएर कार्यान्वयन गरिने गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताए।  

विनियोजित बजेटबाट भवन निर्माणका काम, शिक्षक ,विद्यार्थी, अभिभावकलाई प्रोत्साहन भत्ता, गरिब विद्यार्थीलाई छात्रवृत्ति, बालविकास केन्दमा टिभी जडान, गरिब र जेहेन्दारलाई छात्रवृत्ति वितरण, सिसाकलम, कलमसमेत किन्न नसक्नेलाई स्टेशनरी बैंक सञ्चालन, माध्यमिक तहका प्रधानाध्यापकलाई तलबको पाँच प्रतिशत भत्ता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताए । त्यस्तै गाउँपालिकाले शिक्षा गुणस्तरीय बनाउनका लागि शिक्षक नभएका विद्यालयमा २५ शिक्षकलाई भर्ना गरेको उनले बताए । 
 

विहीबार, २२ फागुन २०७६, १५ : ५९

प्रतिक्रिया