नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सङ्गठन कमिटी म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश कमिटीको निर्देशनअनुसार हालै बेनीमा बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले चैत १ गतेदेखि जेठ मसान्तसम्म जिल्लाव्यापी अभियान सञ्चालन गर्न जिम्मेवारी बाँडफाँट गरेको छ ।
स्थानीय तह र वडास्तरमा पार्टी एकतालाई थप सुदृढ बनाउने, जनवर्गीय सङ्गठनको एकतालाई पूर्णता दिने, जनप्रतिनिधि तथा कार्यकर्ता र जनताको बीचमा समन्वयको वातावरण बनाउने अभियान चलाउन लागिएको नेकपा म्याग्दीका संयोजक गोविन्द पौडेलले जानकारी दिए ।
‘‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार, सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, अन्तक्र्रिया, भेला र प्रशिक्षण कार्यक्रम गरिने भएको छ । पार्टी र जनवर्गीय सङ्गठनको एकतालाई सुदृढ बनाउँदै सरकारले गरेका कामलाई जनतामाझ पु¥याउने, भ्रम न्यूनीकरण गर्ने, गुनासो, सुझाव र अपेक्षा सङ्कलन गरिने संयोजक पौडेलले बताए ।
चैत मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा जेठ मसान्तसम्म नयाँ सदस्यता विस्तार गर्ने, चैत २१ गते वडा तथा गाउँ कमिटीबीच अन्तक्र्रिया, २७ गते जिल्ला कमिटी र २९ गते जिल्ला प्रदेश, सङ्घीय सांसदका बीचमा अन्तक्र्रिया गरिने भएको छ ।
चैत १० गतेभित्र बाँकी रहेका जनवर्गीय सङ्गठनको एकताको घोषणा र अन्यले पालिकास्तरीय बैठकको आयोजना गर्ने निर्णय भएको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले बताए। छवटै स्थानीय तहमा फागुन २४ गते शनिबार एकै दिन पालिका कमिटीको पूर्ण बैठक, चैत मसान्तभित्र छवटै स्थानीय तहमा पार्टी कार्यालय स्थापना, कार्यालय सचिवको जिम्मेवारी तोक्ने, चैत ७ गते रघुगङ्गा, मङ्गला र धौलागिरि गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने कार्यक्रम तय भएको छ ।
अभियान सञ्चालनका लागि बेनी नगरपालिकामा हरिकृष्ण श्रेष्ठ र देव घले, अन्नपूर्ण गाउपालिकामा देवेन्द्र केसी र कुलविर राम्जाली, रघुगङ्गा गाउँपालिकामा विनोद केसी र बालकृष्ण सुवेदीलाई जिम्मेवारी तोकिएको छ । यसैगरी मङ्गलामा टेकबहादुर विक र देवराज सुवेदी, मालिकामा रेशम जुग्जाली र धौलागिरिमा नवराज शर्मा र थमसरा पुनलाई जिम्मेवारी दिइएको छ । नेकपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डे, स्थायी कमिटी सदस्य तथा सांसद थममाया थापा, जिल्ला इञ्चार्ज भुपेन्द्रबहादुर थापाको उपस्थितिमा बैठक सम्पन्न भएको थियो । स्थानीय तहका संयोजकले पार्टी र जनवर्गीय सङ्गठनका गतिविधि प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया