नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशको स्वाधिनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्वहारा वर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको बताएको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाली जनतासमक्ष देशभक्तिपूर्ण संस्कृति निर्माणको सशक्त आह्वान गर्दै पार्टीले हालै आयोजना गरेको ‘मेची–महाकाली देशभक्त जनसांस्कृतिक अभियान’सफलतापूर्वक सम्पन्न भएकोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोपाल किरातीले यस्तो बताएका हुन ्।
अध्यक्ष किराँतीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशद्रोहीको अपराध गरेमा आफ्नो पार्टीले निर्माण गर्ने जनसेनाले टुँडीखेलमा झुण्डयाउने समेत उद्घोष गरे ।
अध्यक्ष किराँतीको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘२५ औं जनयुद्ध दिवसको अवसरमा ०७६ फागुन १ गते पूर्वको मेचीनगरमा उद्घाटन गरी २७ गते पश्चिमको महाकालीनगरमा समापन गरिएको पैदल यात्राको अभियान कष्टसाध्य र गौरवपूर्ण रह्यो । केन्द्रीय अभियान टोलीमा पार्टी अध्यक्ष क. गोपाल किराती, प्रदेश १ अध्यक्ष क. विमल निरौला, प्रदेश ३ उपाध्यक्ष क. प्रकाश दाहाल, राष्ट्रिय पहिचान मोर्चाका प्रतिनिधि तथा किराती राट्रिय मुक्ति मोर्चाका अध्यक्ष क. शाहस राई र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष क. कुमार राई बान्तवा हुनुहुन्थ्यो । उक्त अभियानमा प्रदेश २ अध्यक्ष क. बब्लु ठाकुर, प्रदेश ५ अध्यक्ष क. अबिन गोतामे र पार्टी उपाध्यक्ष तथा प्रदेश ७ ईन्चार्ज क. रंगनाथ ढकाल लगायत सम्बन्धित प्रदेशमा दर्जनौ कम्रेडहरुले ऐतिहासिक यात्रा गर्नुभयो।’
मेची–महाकाली पैदल यात्राको आफ्नो पार्टीको अभियान ईन्डो–प्यासिफिक सैन्य रणनीति र एमसिसी सम्झौताद्वारा नेपाललाई साम्राज्यवादी युद्धको अखडा बनाउने अमेरिका तथा नेपाली भूमि हडप्ने विस्तारवादी भारतविरुद्ध देशभक्त जनप्रतिरोध सँस्कृति निर्माणको सन्देश स्थापित गर्न सफल भएको समेत अध्यक्ष किराँतीले दाबी गरे । ‘हात्ती र बाघको जोखिमका कारण निकुञ्ज ईलाकामा बस÷गाडी प्रयोग गर्नु परेको मेची–महाकाली पैदल अभियान नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा अभूतपूर्व राजनीतिक अभियान बन्यो ।’–उनले भने ।
विज्ञप्तीमा थप भनिएको छ,‘देशभक्त जनसाँस्कृतिक अभियानको प्रारम्भिक चरणलाई निम्न बुँदामा संश्लेषण गर्न सकिन्छ ः
१. नेकपा (माओवादी केन्द्र) देश र जनताको पक्षमा फेरी पनि बलिदान गर्न दृढतापुर्वक अग्रसर छ । त्यसर्थमा माओवादी केन्द्र देशको प्रवक्ता बन्न सक्छ ।
२. अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद र स्थानीय दलाल पुँजीवाद विरुद्ध दीर्घकालीन प्रतिरोध संघर्ष लड्न देशभक्त जनसेना निर्माणको अपरिहार्य आवश्यकता छ ।’
नेपाली सेना र प्रहरी सरकारी फौज भएकोले सरकारको निर्देशनमा रहनुपर्ने उक्त पार्टीको ठम्याई रहेको छ । विज्ञप्तीमा भनिएको छ,‘तर, खड्ग ओली सरकार भने नेपाललाई अफगानिस्तान वा इराक बनाउन खोज्ने अमेरिकी साम्राज्यवाद र सिक्किम, भुटान वा फिजी बनाउन खोज्ने भारतीय विस्तारवाद सामु लम्पसार परेको छ । अतः देशको स्वाधीनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्बहारावर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको छ । यद्यपि जनसेना निर्माण कहिले र कसरी गर्ने भन्ने सम्बन्धमा पार्टीमा व्यवस्थित छलफल एवं नेपाली जनसमुदायमाझ बहस अभियान सञ्चालन गरी शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीति र महान जनविद्रोहको रणनीतिमा अघि बढ्नुपर्छ ।’
अध्यक्ष किरातीले मोहन बैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ सँग कार्यगत एकताको लागि छलफल भैरहेको पनि स्पष्ट पारे । आफ्नो पार्टी एमसीसी र सीमाको विषयमा दश दलीय मोर्चामा आवद्ध रहेकोबारे उनले प्रकाश पारे ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष तिलक थापाले पार्टीले कोरोना भाइरस विरुद्ध ऐक्यवद्धता जाहेर गर्दै हात मिलाउने प्रचलन अन्त्य गरी पार्टी अभिवादनमा लालसलाम र सामाजिक शिष्टाचारमा नमस्ते÷सेवारो÷जोजोलपा अख्तियार गर्न पार्टीपंक्ति र समर्थक जनसामुदायमा हार्दिक आग्रह समेत गरेको छ ।
प्रतिक्रिया