नेपालमा कोरोना संक्रमित भेटिएकामध्ये ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना र बाग्लुङ्गकी एकजनामा कोरोना संक्रमण नेगेटिभ भेटिएको हो ।
पाटन अस्पतालमा उपचाररत सनसिटी अपार्टमेण्टका कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको जानकारी दिए । उनीहरु आमाछोरा हुन् ।
उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।
उता बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको पाँचौं परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आउनुभएकी उहाँमा चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो ।
“बुधबार पठाइएको स्वाबको नमूना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ, भोलि नै अर्को परीक्षणका लागि नमूना पठाउँछौँ”, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने ।
छैटौँ जाँचको रिपोर्ट पनि नेगेटिभ आए युवतीलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ । हाल उनी अस्पतालको आइसोलेसन कक्षमा चिकित्सकीय निगरानीमा छन् । युवतीको स्वास्थ्य अवस्थामा भने सामान्य छ ।
युवतीसँगै बेल्जियमबाट आउँदा सङ्क्रमित भएकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला भने निको भएर केही दिनअघि घर फर्किसकेकी छन् ।
नेपालमा कूल ४५ सङ्क्रमितमध्ये सात कोरोनामुक्त भइसकेका छन् ।
प्रतिक्रिया