बुटिक प्रति उच्च आकर्षण : व्यापारसँगै उच्च प्रतिस्पर्धा

शुक्रबार, १७ पुस २०७७, १० : ४७

काठमाडौं- अरुले भन्दा फरक र आकर्षक डिजाइनका लुगा लगाउने रहर हरेक महिलामा हुन्छ। तर अरुभन्दा ‘स्मार्ट’ देखिने होडमा महँगा ब्रान्डको पछि लागेर फेसनमै सर्वस्व सक्ने सोँच कसैको हुँदैन । 

नयाँ र फरक पनि तर उचित मूल्यमा त्यो कसरी त रु यसको एकमात्र विकल्प अहिले बुटिक बन्ने गरेको छ ।  त्यसैले आजभोली महंगा ब्राण्ड भन्दा पनि क्षमताअनुसारको तर नयाँ डिजाइनको पहिरनमा धेरै महिलाहरु देखिन्छन् । 
 
फेसनको मोह बढ्दै जाँदा जन्मिएको बुटिक व्यवसाय नेपालमा अहिले फस्टाउँदो क्रममा रहेको छ । नयाँ डिजाइन नयाँ फेसन सुहाउदो पहिरनको माग बढे सँगै कोरोना महामारीको बीचमा पनि नेपालमा यसको माग बढिरहेको व्यवसायीहरुले बताएका छन् ।    

कोरोना भाइरसको महामारीले ब्यापार व्यावसाय चौपट भएको अबस्थामा पनि नेपालमा बुटिक ब्यवसाय राम्रो रहेको उनीहरुको भनाई छ । 

अहिले इन्गेजमेण्ट तथा बिबाहमा प्रायः दुलही बुटिक पहिरनमै सिंगारिएको देखिन्छ भने सिनेकर्मी, मोडल, कलाकार देखि सभा समारोहमा सहभागी हुनेहरु पनि बुटिक पहिरनमै सजिएको भेटिन्छन् । 

त्यसैले बुटिक डिजाइनका लेहेङगा, गाउन, साडी, कुर्ति, वनपिस जस्ता कपडाहरु नेपाली बजारमा चलयमान हुँदै गएको व्यवसायीहरुको भनाई छ । 
 
बुटिकमा अर्डरअनुसार व्यक्तिको वर्ण उचाइ, मोटाइलगायत कुरालाई ख्याल गरेर उपयुक्त डिजाइन दिइ आफ्नो इच्छा अनुरुपको कपडा तयार हुने 
भएकोले विवाह, फेस्टिभल, पार्टी जस्ता विभिन्न कार्यक्रमको अनिवार्य जस्तै बनिसकेको क्यास (क्रिएटिभ एन्ड स्टाइल हाउस) की सञ्चालक सङ्गीता खड्का बताउँछिन् । 

करिब एक दशक अघिबाट ललितपुरको कुपण्डोलमा बुटिक व्यावसाय सञ्चालन गर्दै खड्काका अनुसार यस एक दशको अन्तरालमा पहिले भन्दा अहिले धेरै बुटिक फस्टाएको छ ।  

उनका अनुसार अहिले नयाँ फेसन डिजाइनको विकास भएसँगै नयाँ पहिरनको शोख भएका मध्यम र उच्च बर्गका महिलाहरु यसप्रति आकर्षित भएका हुन् । ‘आफूले चाहेजस्तै रंग र डिजाइन र साइजमा आकर्षक कपडा लगाउन पाइने भएकोले धेरैको रोजाइमा बुटिक परेको हो’ उनी भन्छिन् । 

विशेष गरि उनीकहाँ विबाह, फिल्म, म्युजिक भिडियोको लागि कपडाको अर्डर हुने गर्दछ । ‘यो क्षेत्रमा बुटिक अनिवार्य जस्तो नै बनिसकेको छ’, उनी भन्छिन्। उनको एक दशकको अनुभवमा बुटिक नयाँ फेसनको सौख, आकर्षण मात्र नभएर एउटा आम्दामिको राम्रो स्रोत पनि हो । 

८ बर्षदेखि बुटिक व्यवसाय गर्दै आएकी कुपण्डोलकै बिबा बुटिककी सञ्चालक कल्पना सिंह बानिँयाले पनि बुटिक सानो लगानीले सञ्चालन गर्न गाह्रो भएता पनि यसमा लगाबका साथ लागियो भने धेरै राम्रो हुने बताउँछिन् ।  

‘केहि बर्ष अघि युवतिहरुमात्र बुटिकमा आकर्षित थिए तर अहिले सबै उमेर समुहका र पुरुषहरु पनि यसमा अकर्षित हुँदै गएका छन्’, उनी भन्छिन् ।

नेपालमा मात्र होइन अहिले अमेरिका, अष्ट्रेलिया, जपान लगायतका देशहरुमा बसोबार गर्ने नेपालीहरुबाट पनि अर्डर आउने गरेकोले व्यवसायमा उत्साह थपेको उनको भनाइ छ छ । बुटिकमा आकर्षण बढेसँगै प्रतिस्पर्धा भने बढेको क्यासकी खड्काको भनाइ छ । ‘माग जति धेरै छ, बुटिक व्यावसाय गर्नेको संख्या पनि उतिकै बढेको छ’, खड्का भन्छिन्, ‘जसले गर्दा बजारमा प्रतिस्पर्धा धेरै छ ।’  

हेर्दा सहज जस्तो राम्रो देखिँदैमा बुटिक व्यावसाय सञ्चालन गर्न त्यति सहज भने छैन । त्यहाँ लगाव, मेहनत अनि सीपको निखारता जरुरी छ । 

यी गुण भएमा बुटिकमा रोजगारी पनि राम्रो छ । क्रिएटिभ एन्ड स्टाइल हाउस (बुटिक कारखाना) मा ५ जना कलिगढ छन् भने सो–रुममा दुई जना कर्मचारीले जागिर पाएका छन् । 

तर नेपालीहरुले सीपमा निखारता नल्याउँदानेपालको भन्दा भारतीय कालिगढ धेरै छन् । ‘नेपाली कालिगडमा पनि सीप नभएको त होइन तर जस्तो भन्यो त्यहि प्रकारको डिजाइन भारतीय कालिगढले उतार्न सक्ने भएको कारण भारतीय कालिगड राखिएको हो’, उनी भन्छिन् । 

नेपाली महिलाहरुले रोजगारी अभावमा छटपटाउनु भन्दा राम्रो तालिम गरेर व्यवसायीकतामा जोड दिने हो भने यस क्षेत्रमा राम्रो अबसर भएको उनी बताउँछिन् । पछिल्लो समय नेपाली बुटिक व्यवसायमा अनलाईन व्यावसायको नकारात्मक प्रभाव परेको उनको बुझाइ छ । ‘अहिले मानिसहरु पनि सुखी जीवन विताउने लालसाले  पसलमै गएर कपडा खरिद गर्न भन्दा पनि घरैमा अडर गर्न चाहन्छन्’, उनी भन्छिन्, ‘त्यसैले अनलाइनमा राम्रो फोटो देखेपछि घरमै सामान झिकाउँछन् , हाम्रो पसलमा आएर किन्नेको संख्या घट्दो छ ।’ 

बुटिकमा कोरोना कहर र अनलाइनको असर
अनलाइनमा कपडाको फोटो धेरै राम्रो देखिने भएपनि वास्तविक सामानको गुणस्तर निकै कमसल हुने भएकोले नकारात्मक असर परेको पनि उनको भनाई छ । ‘यसले कतिपयमा बुटिकको बारेमा नबुझेकाहरुमा बुटिक भनेको फोटोमा मात्रै पो राम्रो रहेछ भन्ने पनि परेको छ, जसले हाम्रो व्यवसायमा धक्का लागेको छ’, उनी भन्छिन् । 

पछिल्लो समयमा कोरोना भाइरसको महामारीले पनि बुटिक व्यवसायलाई नराम्रो तरिकाले प्रभावित गरेको छ  । ‘लकडाउन सँगै विवाह, इभेन्ट, फिल्म, म्युजिक भिडियो जस्ता विभिन्न कार्यक्रमको सम्पूर्ण गतिविधि ठप्प भयो र बुटिक व्याबसाय पनि ठप्प नै भयो ’, खड्का भन्छिन्, अर्कोतर्फ कसरी जीविकोपार्जन गर्ने भन्ने तर्फ मानिसहरुको ध्यान केन्द्रित भएको छ ।’

कोरोनाको कारण लाकडाउन भए पछि उनले ६ जना कामदारलाई विदा दिनु परेको थियो । कोरोनाको कहर कहिले सकिन्छ भन्दै कुरेर बस्नुभन्दा नेपाल सरकारको स्वस्थ्य मापदण्डलाई पालना गरि विस्तारै सम्पूर्ण गतिविधिहरु चलयमान गराएमा मात्र बुटिक व्यावसायलाई पनि पुरानो लयमा फर्काउन सकिने उनको धारणा छ । 

कच्चा पदार्थ विदेशबाट ल्याउँदा विदेशीलाई फाइदा 
नेपालमा बुटिक व्यवसाय फस्टाउँदै गरेको भएपनि कपडा, बतु जस्ता बुटिकमा चाहिने सम्पूर्ण सामग्री अन्य देशबाट आयात गर्नु परेको कारण बुटिकले आफ्नो देशलाई भन्दा पनि विदेशलाई धेरै फाइदा भएको उनको बुझाइ छ।

शुक्रबार, १७ पुस २०७७, १० : ४७

प्रतिक्रिया