चार कम्पनीको हकप्रद शेयर निष्कासन गर्ने तयारी, कुन कम्पनीको कति कित्ता ?

शुक्रबार, ०४ असार २०७८, १८ : ००

काठमाडौं, चार ओटा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।

छ्याङ्दी हाइड्रोपावर, शिखर इन्स्योरेन्स कम्पनी, एक्सेल डेभलपमेण्ट बैंक र कर्पोरेट डेभलपमेण्ट बैंकले १ करोड १६ लाख १ हजार ९६० दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका हुन् । 

सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि जेठ २५ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले आव २०७६र७७ को २७ दशमलव ७६ प्रतिशत बोनस शेयर वितरण कायम चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

इक्रा नेपालले इक्रा एपीआर ए रेटिङ प्रदान गरेको छ । उक्त हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसेकको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । ३० प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

त्यसैगरी, कर्पोरेट डेभलपमेण्ट बैंकले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा २०७७ पुस २६ गते निवेदन दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४१ करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको पूँजी रू. ७१ करोड पुग्नेछ । कम्पनीको बिक्री प्रबन्धक सिभिल  क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यस्तै, एक्सेल डेभलपमेण्ट बैंकले हाल कायम रहेको चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा जेठ २७ गते निवेदन दिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ । उक्त हकप्रद शेयर निष्कासन पछि पूँजी रू. १ अर्ब ५ करोड ४४ लाखभन्दा बढी पुग्नेछ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

छ्याङदी हाइड्रोपावर कम्पनीले गत आवको मुनाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न वैशाख १५ गते बोर्डमा निवेदन दिएको हो । ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार पुग्नेछ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमी क्यापिटल रहेको छ ।

यही पूँजीको आधारमा उक्त हकप्रद शेयर निष्कासन गर्नेछ । ३० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार पुग्नेछ । यी चारओटै कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछन् । 

शुक्रबार, ०४ असार २०७८, १८ : ००

प्रतिक्रिया