काठमाडौं, मध्य भोटेकोशी जलविद्युत कम्पनीको यसअघि स्थगित गरिएको आइपीओ आज (मंगलबार) बाट पुनः खुला भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावितका लागि वैशाख २१ गतेदेखि आइपीओ बिक्री खुला गरेकामा कारोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैशाख २४ गतेदेखि स्थगित गरिएको थियो ।
स्थानीयले यसमा साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
मध्य भोटेकोशीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशतले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको छ । यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ ।
स्थगित हुनुअघि आवेदन दिएका स्थानीयले पुनः आवेदन दिनु नपर्ने बिक्री प्रबन्धकले जनाएको छ । सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्रबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ । साथै, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिन्छ ।
यसको अलावा इ सेवा र आइएमई पेको अनलाइन पेमेन्ट गेटवे तथा ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाबट अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया