इ–पासपोर्ट : राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य, कुन देशबाट कति रकम लाग्छ ?

विहीबार, २३ मंसिर २०७८, १० : १२

काठमाडौं - जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन लिने कार्य सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माका अनुसार बुधबारबाट योकार्यको थालनी भएको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी लिन चाहनेले अनलाइनबाट फारम भर्नू पर्दछ । विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन दिने व्यक्तिले अनिवार्य राष्ट्रिय परिचयपत्रको नम्बर सो फारममा भर्नू पर्दछ । 

हाल भक्तपुर स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन कार्य भइरहेको छ । राष्ट्रिय परिचयपत्रको विवरण भर्न भने नागरिकता अनिवार्य चाहिन्छ । विवाहितको हकमा श्रीमान् वा श्रीमतीको नागरिकता र विवाह दर्ताको प्रमाणपत्र चाहिन्छ । 

३४ पृष्ठ भएको इ–पासपोर्ट र एमआरपी दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण इ–पासपोर्टको दस्तुर भने फरक छ । विभागले इ–पासपोर्ट निवेदन दिएको दुई दिनमा उपलब्ध गर्नेछ । 

जिल्ला प्रशासन कार्यालयबाट इ–पासपोर्ट लिँदा सरकारलाई ५ हजार रुपैयाँ राजस्व बुझाउन पर्नेछ भने ६६ पृष्ठको लिँदा १० हजार रुपैयाँ । विभागबाट ३४ पृष्ठको इ–पासपोर्टबाट लिँदा सरकारलाई १२ हजार रुपैयाँ राजस्व बुझाउनु पर्नेछ भने ६६ पृष्ठको लिँदा २० हजार रुपैयाँ । 

राहदानी (पहिलो संशोधन) नियमावली, २०७८ अनुसार पासपोर्ट हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले पासपोर्ट प्रयोग हुन नसक्ने भई नयाँ इ–पासपोर्ट बनाउन परेमा थप पाँच हजार रुपैयाँ राजस्व बुझाउन पर्नेछ । 

अन्य देशमा रहेका नेपाली नियोगबाट इ–पासपोर्टको लागि निवेदन दिँदा फरक फरक रकम राजस्व बुझाउनु पर्नेछ । उत्तर र दक्षिण अमेरिकी महादेश अन्तर्गतका देशहरू, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, दक्षिण कोरिया र हङकङस्थित नेपाली नियोगमा निवेदन दिँदा ३४ पृष्ठको पासपोर्टको लागि १५० अमेरिकी डलर र ६६ पृष्ठको हकमा २ सय अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा राजस्व सरकारलाई बुझाउनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । 

नियमावलीअनुसार रुस, नेपाली दूतावास मस्कोको सहप्रमाणीकृत मुलुक र साईप्रसको लागि नेपाली नियोगमा इ–पासपोर्टको लागि निवेदन दिँदा ३४ पृष्ठकोलाई ८० युरो र ६६ पृष्ठकोलाई १३० युरो वा सो बराबरको स्थानीय मुद्रा राजस्व बुझाउनुपर्नेछ ।

रुस, नेपाली दूतावास मस्कोको सहप्रमाणीकरण मुलुक र साइप्रस बाहेक युरोपस्थित अन्य देशमा रहेका नेपाली नियोगमा ३४ पृष्ठको इ–पासपोर्टको लागि निवेदन दिँदा १२० युरो र ६६ पृष्ठको हकमा १७० युरो वा सो बराबरको स्थानीय मुद्रा राजस्व सरकारलाई बुझाउनुपर्नेछ । 

मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, लेबनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन, ओमान र यमनस्थित नेपाली नियोग र ती नियोगको सहप्रमाणीकृत मुलुकबाट ३४ पृष्ठको इ–पासपोर्टको लागि निवेदन दिँदा ५० अमेरिकी डलर र ६६ पृष्ठको लागि एक सय अमेरिकी डलर वा सो बराबरको रकम राजस्व तिर्नुपर्ने हुन्छ ।

विहीबार, २३ मंसिर २०७८, १० : १२

प्रतिक्रिया