एजेन्सी - विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीका अधिकारीहरुले अमेरिका सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागू गर्न हतार नगर्न आग्रह गरेका छन् ।
एउटा पत्रमा बोइङ र एयरबसका प्रमुख अधिकारीहरुले फाइभजी प्रविधिले ‘नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने’ चेतावनी दिएका छन् । यसअघि पनि फाइभजीको सी–ब्यान्ड तरंगको प्रयोगले विमानको विद्युतीय उपकरणको कामलाई प्रभावित पार्न सक्ने सम्भावना रहेको बताइएको थियो ।
अमेरिकाका दुई ठूला टेलिकम कम्पनीहरु एटीएन्डटी र भेरिजन सन् २०२२ को जनावरी ५ देखि फाइभजी प्रविधि लागू गर्ने तयारीमा छन् । ‘फाइभजीले विमानको सुरक्षित उडान गर्ने क्षमतालाई नकारात्मक असर गर्न सक्छ’, बोइङमा डेभ कल्हन र एयरबस अमेरिकाका जेफ्री निटलले अमेरिकी यातायातमन्त्री पिट बुटजेजलाई पठाएको पत्रमा लेखिएको छ ।
पत्रमा एयरलाइन्स फर अमेरिकाले गरेको एउटा अध्ययनको तथ्यांकलाई संलग्न गरिएको छ । सो अध्ययनले सन् २०१९ देखि अमेरिकामा फाइभजी नियम लागू भएको भए अहिलेसम्म ३ लाख ४५ हजार यात्रुवाहक उडान र ५ हजार ४०० मालवाहक उडान ढिलो वा अन्यत्रै अवतरण वा रद्द भएको हुने निष्कर्ष निकालेको छ ।
उड्डयन उद्योग र अमेरिकी नागरिक उड्डयन निकाय एफएएले फाइभजीले विमानका उचाइ मापनयन्त्रजस्ता महत्वपूर्ण उपकरणलाई असर गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यही महिना एफएएले फाइभजीले उडान अन्यत्रै लग्नुपर्ने अवस्था आउन सक्ने भन्दै यस विषयमा विस्तृत जानकारी जनावरी ५ अगाडि दिने बताएको छ ।
गत साता युनाइटेड एयरलाइन्सका प्रमुख कार्यकारी स्कट किर्बीले एफएएको फाइभजी नियमले अमेरिकाका ४० वटाभन्दा बढी ठूला विमानस्थलमा रेडिओ उचाइ उपकरण प्रयोग गर्न नसकिने बताएका थिए । अमेरिकी मोबाइल सेवा प्रदायकहरुको समूह सीटीआईएले भने फाइभजी सुरक्षित रहेको र उड्डयन उद्योगले तथ्य बंग्याएर त्रास उत्पन्न गर्ने काम भएको जनाएको छ ।
प्रतिक्रिया