हिमालयन र इन्भेष्टमेन्ट बैंकको शेयर २०७८ बैशाख ३१ गतेदेखि रोक्का, कहिलेबाट खुल्छ ?

२ बर्ष अगाडि

काठमाडौं - आपसी मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेपछि नेपाल स्टक एक्सचेन्जले २०७८ बैशाख ३१ गतेदेखि हिलमायन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको थियो । शेयर कारोबार रोक्का गरेसँगै लाखौं लगानीकर्ताहरुले उक्त बैंकको शेयर बिक्री गर्न पाएका छैनन् ।

हिजो सम्पन्न भएको हिमालयन बैंकको २९ औं बार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर अस्वीकृत गरेसँगै मर्जर प्रक्रिया लगभग भाँडिएको छ । बैशाख ३१ गतेदेखि आठ महिनासम्म रोक्का रहेको शेयर कारोबार खुल्ने अन्योल बनेको छ ।  

दुवै संस्थाको व्यवस्थापनले मर्जरमा जाने सहमति गरेर प्रक्रिया अघि बढाएपनि साधारणसभाबाट पारित नभएपछि मर्जर भाँडिन लागेको हो । यस्तो अवस्थामा अब दुई वटा विकल्प हुन्छ । पहिलो मर्जरका लागि पुनः पहल गर्ने । त्यसको लागि असमझदारी भएको स्वाप रेसियो संशोधन गरेर पुनः साधारणसभामा लगेर पारित गर्न प्रयत्न गर्ने । यो बाटो तय गरेको खण्डमा शेयर कारोबार खुल्न अझै केही समय लाग्नेछ ।

मर्जर भंग भएको अवस्थामा पुरानै मूल्यमा शेयर कारोबार हुनेछ । नेप्सेमा हिमालयन बैंकको १२ करोड ९६ लाख ८७ हजार २५६ कित्ता शेयर सूचिकृति छ । कारोबार बन्द हुनु अघिल्लो दिन अर्थात बैशाख ३० गते सो बैंकको शेयर प्रतिकित्ता ४८४ रुपैयाँमा कारोबार भएको थियो । त्यसैले डिमर्जर भएको अवस्थामा बैंकले २६ प्रतिशत लाभांश समेत घोषणा गरेकोले सो समेत समायोजन गरी शेयर कारोबार खुल्नेछ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार बन्द हुनु अघि गत बैशाख ३० गते प्रतिकित्ता ४६० मा कारोबार भएको थियो । कूल १६ करोड २५ लाख ७३ हजार २९५ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको बैंकले गत आवको मुनाफाबाट १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सो निर्णय साधारणसभाबाट समेत पारित भइसकेकोले अब लाभांश समेत समायोजन भएर शेयर कारोबार खुल्नेछ ।

अहिलेको अवस्थामा हेर्दा दुवैको मूल्य केही घटेर कारोबार सुरु हुने देखिएको छ । लाभांश वितरणपछि समायोजन हुँदा लाभांशको समेत गणना गरी शेयर मूल्य समायोजन हुँदै आएकोले यी दुई बैंकको शेयर मूल्य बैशाख ३० गते भन्दा केही घट्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया