काठमाडौं- नेपाल एक प्राकृतिक सौन्दर्यले भरिएको देश । हिमाली भेगमा दन्ते लहर फिँजारी हाँसी रहेका ति हिमाल । वास्तवमै हामी नेपाली प्राकृतिक रुपमा निकै नै धनी छौ, तर राजनैतिक अस्थिरताले उस्तै गरिब पनि । नेपाललाई हिमालका अग्ला आँखाले हेर्दा लाग्छ, नेपाल साँच्नै कति सुन्दर छ है ।
नेपालमा प्रशस्त हिमचुलीहरूमा रहेका छन् र यहाँ हिमालहरुको जम्काभेट भएको पाइन्छ। नेपालका यी प्राकृतिक सौन्दर्यले भरिपूर्ण घामको किरणसँगै टल्किने हिमाललाई एक बिहानै सूर्य उदय सँगै हेर्न पाउँदा कसको मन प्रफुल्ल न होला ।
जसरी एक नारी गाजल,टिका, लाली लगाउँदा सुन्दर र भरिपूर्ण देखिन्छिन् यसरी नै नेपाललाई हाम्रो यी हिम टाकुराले सिँगारे सुन्दर बनाएका छन् ।
नेपालीको सौभाग्य नै मान्नुपर्छ, तराई, पहाड,डांडाजस्ता धेरै ठाँउबाट विभिन्न कोणमा उत्तरका हिमशृङखला देखिन्छ । पोखरा, दिल्ली,दुबई वा पश्चिमका अन्य कुनै पनि ठाँउ जाने विमानमा मध्य नेपालका अग्ला हिमाल देखिन्छ । पश्चिम काठमाडौं उड्दा यिनै हिमाल उल्टो क्रममा देखिने हुन् ।
विश्वका ८ हजारभन्दा मिटरभन्दा अग्ला १४ हिमशिखर मध्ये नेपालमा ८ वटा रहेको छन् । आउनुहोस् हामी जानौ नेपाल यिनै ८ अग्ला हिमालका बारेमा कुन कुन हुन् यिनीहरुको उचाइ कति रहेको छ ?
सगरमाथा
सगरमाथा विश्वमै सबैभन्दा अग्लो हिमशिखर हो । सगरमाथा भन्ने बित्तिकै नेपाललाई विश्व सामु चिनाइ राख्नु नै पर्दैन् । नेपाल र सगरमाथा त पर्यायवाची शब्द जस्तै बनेका छन् यसको उचाइ समुन्द्र सतहबाट ८,८४८.८६ मिटर (२९,०३९.६९ फिट) रहेको छ । सन् २०२० अगाडि सगरमाथाको उचाइ समुन्द्र सतहबाट ८,८४८ मिटर रहेको मानिएको थियो । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिकामा पर्दछ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो पछि सन् १९५६ (वि.स.२०१२)मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन् । सगरमाथा शिखरमा सर्वप्रथम सन् १९५३ मे २९ तारिखको बिहान ११ः१५ बजे,नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पाइला राखेका थिए । सगरमाथाको चुचुरोमा पुग्नको लागि १८ अलग अलग बाटोहरू रहेका छन् ।
कञ्चनजङ्घा
कञ्चनजङ्घा हिमाल नेपालको दोस्रो र विश्वको तेस्रो अग्लो हिम टाकुरा हो । यसको उचाइ ८,५८६ मिटर(२८,१६९ फिट) रहेहो छ । पश्चिममा तमारे नदी, उत्तरमा ल्होनाक चु र जोङ्सोङ ला र पूर्वमा टिस्टा नदीद्धारा यो हिमाल घेरिएको छ । कञ्चनजङ्घा हिमाल भारत र नेपालको सिमानामा अवस्थित छ । यसका पाँच चुचरामध्ये तीन वटा मुख्य, मध्य र दक्षिणमा सिधा सिमानामा पर्दछ । कञ्चनजङ्घा हिमाल ताप्लेजुङ जिल्लामा पर्दछ ।
सन् १८५२ सम्म कञ्चनजङ्घा विश्वको सबैभन्दा अग्लो हिमाल मानिएको थियो । तर, सन् १८४९ मा भारतको विशाल त्रिकोणमितीय सर्वेक्षणले गरेको विभिन्न पठन पाठन र मापनका आधारमा गरिएको हिसाबले त्यतिबेला शिखर पन्ध्र भनेर चनिने सगरमाथा सबैभन्दा उच्च रहेको थियो भन्ने निष्कर्षमा पुगेको थियो । सबै हिसाबको थप प्रमाणीकरण्को लागि अनुमति दिदैँ सन् १८८६ मा आधिकारिक रुपमा कञ्चनजङ्घा विश्वको विश्वको तेस्रो अग्लो हिमाल भनि घोषणा गरिएको थियो ।
कञ्चनजङ्घा हिमाल ताप्लेजुङमा रहेको सुकेटार विमानस्थल तथा सदरमुकाम फुङलिङदेखि हाङद्रुङसम्म गाडीमा जान सकिन्छ । ताप्लेजुङ सदरमुकामदेखि नै उत्तरी बेस क्याम्पसम्म् रहेका आठवटा क्याम्पाम पैदलै यात्रा गर्नुपर्दछ । पदयात्रीले कञ्चनजङ्घा हिमालको मनमोहक छटा, हिमाल समिका हिमनदी, छङछङ बग्ने कञ्चन खोलानाला तथ झरनाको अनान्द लिन पाउंछन् ।
ल्होत्से
ल्होत्से हिमाल विश्वको चौथो अग्लो हिमाल हो । यो भन्दा अग्लो सगरमाथा के टु र कञ्चनजङ्घा रहेका छन् । सगरमाथा र कञ्चनजङ्घा त विश्वको पहिलो र तेस्रो अग्ला हिमाल भए जुन नेपालमै अवस्थित छन् । के टु चाँही विश्वको दोस्रो अग्लो हिमाल शिखर हो । यो पाकिस्तानमा अवस्थित छ । ल्होत्से हिमाल सगरमाथासंग जोडीएको छ । समुद्र सतहदेखि ८,५१६ मिटरको उचाईको अतिरिक्त् मुख्य शिखरमा,ल्होत्से मध्य (पूर्व)मा ८,४१४ मिटर र ल्होत्से ८,३८३ मिटर रहेको छ । यो नेपाल तिब्बतको सिमानाको मध्यमा स्थित छ । चीन र नेपालको खुम्बु क्षेत्रको बीचमा यो हिमाल अवस्थित रहेको छ ।
मकालु
मकालु हिमाल संसारको पाँचौ र नेपालको चौथो अग्लो हिमाल शिखर हो । यसको उचाइ समुद्र सतहदेखि ८,४८१ मिटर रहेको छ । मकालु हिमाल नेपालको पूर्वी भागमा अवस्थित छ । फ्रान्सका जीन कुजीले मे १५,१९५५ मा पहिलो पटक मकालु हिमाल आरोहण गरेका थिए । यो हिमाल अवलोकन गर्न आउने अधिकांश पर्यटकहरु तुम्लिङटार विमानस्थलमा जहाजबाट ओर्लिएर डाँडाकाँडा,पहाड,गाँउबेशीको दृश्य अवलोकन गर्दै पैदल नै जाने गर्दछन् । भने कतिपय पर्यटकहरु चाँही तुम्लिङटारबाट सिधैँ गाडमा नुमसम्म्म पुग्रे गरेका छन्,। नुमबाट माथि मकालु बेसक्याम्प र मकालर वरुण निकुञ्ज जानलाई पैदल नै जानुपर्ने हुन्छ । पदयात्रीले मकालु हिमालको छटा, हिमनदी, खोलानाला, झरना,सुनाखरी,लालीगुराँस,स्थानीय धर्मसंस्कति अवलोकनको आनन्द प्राप्त गर्न सक्दछन् । यसका अवाला मात्र ४ सय ५७ मिटर मात्र उचाइमा रहेको अरुण उपत्यकाको समेत पदयात्रीलाई अवलोकन गर्ने अवसर प्राप्त हुन्छ ।
चोयु
चोयु हिमाल विश्वको छेठौँ अग्लो हिम टाकुरा हो । यसको उचाइ समुद्र सतहदेखि ८,२०१ मिटर रहेको छ । यो सोलुखुम्बु जिल्लामा अवस्थित रहेको छ । अष्ट्रियन एच टीचे र नेपालका पासाङ दावा लामाले अक्टोबार १९,१९५४ मा पहिलो पटक यो हिमाल आरोहण गरेका थिए । सगरमाथाको आरोहरण हुनुअघिदेखि नै आरोहीहरुले यो हिमालको आरोहण सुरु गरेका हुन् । पदयात्रा दृष्टिकोणबाट सहज, लागयतका हिसाबले किफायती गन्तव्य मानिन्छ यो ।
धौलागिरि
धौलागिरि हिमाल विश्वकै सातौँ अग्लो हिमाल हो । यो हिमालको उचाइ ८,१६७ मिटर(२६,७९५ फिट) रहेको छ । यो धौलागिरि हिमशृखलाको पूर्वी छेउमा रहेको छ ,जुन नेपाली हिमालयको मध्य भागतिर पर्दछ । यो हिमाल पोखराको उत्तरपश्चिममा अवस्थित छ । यसको पूर्वमा कालाी गण्डकीको गहिरो गल्छीको अर्कोपट्टी अन्नपूर्ण हिमाल अवस्थित छ ।
सन् १८०८ मा पश्चिमाहरुले पत्ता लगाएपछि धौलागिरिलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रुपमा लिइन्थ्यो तर पछि कञ्चनजङ्घा पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो । स्थानीय भू धरातलमा भएको अग्लाइको आधारमा धौलागिरि जस्चे अर्को हिमाल संसारमा कुनै छैन । उदाहरणको लागि, यो दक्षिणपूर्वमा ३० किमीको तेर्सो दूरीमा कालीगण्डकको गल्छीदेखि ७००० मिटरमाथि उठेको छ । धौलागिरि र अन्नपूर्णजस्ता दुई आठ हजारी हिमाल नदी नजिकै गल्छी वारिपारि रहेकाले कालीगण्डकी गल्छीलाई अनौठो गल्छीको रुपमा लिइन्छ ।
पश्चिम म्यादीमा घना जंगल र केही वस्तीको बीचमा रहेको बराहतालमा निकै आकर्षक अनि मनमोहक धौलागिरि हिमालको स्पष्ट प्रतिबिम्ब (छाँया) देख्न सकिन्छ । यस्तै, धौलागिरि हिमालमा मात्रै विभिन्न छ वटा चुचुरा छन् । त्यहँँ पुग्दाँ आफ्नो आँखै आगाडि देखिने सेताम्मे हिमालको आकर्षणले पर्यटक तान्न आतुर रहेको आभास हुन्छ । नांगो आँखाले गुर्जा हिमालदेखि माछापुच्छ्रे सम्म एकै नजरमा हेर्न पनि भ्याइन्छ ।
मनास्लु
मनास्लु हिमाल संसारकै आठौंँ अग्लो हिमशिखर हो । यसको उचाइ समुद्री सतहदेखि ८,१५६ मिटर (२६,७५९ फिट) रहेको छ । मनास्लु हिमाल मानसिरी पर्वतशृङखलामा रहेको,यो नेपाली हिमालय शृङखलाकाृ एक भाग हो, यसको अवस्थिति नेपालको सुदुरपश्चिम भागमा रहेको छ । सर्वप्रथम १९५६ मा जापानस् आरोहण टोलीका सदस्यहरु तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुले आरोहण गरेका थिए । सन् १९९५ देखि मात्रै सरकारले निषेधित क्षेत्रका रुपमा रहेको मनास्लु क्षेत्रलाई भमणका लागि खुला गरेको हो ।
पदयात्रीहरुले मनास्लु हिमालेको छटा, ३ हजार ७ सय मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र भीमथाङ उपत्यका, ४ हजार १ सय मिटरको उचाइमा रहेको पोंकर ताल, ५ हजार १६० मिटरको उचाइका लार्के पास, गोवा उपत्यका, चुम उपत्यका, वीरेन्द्रताल,नेपाल तिब्बत बोर्डर,छहरा छाँगा अवलोकनको मज्जा लिन सक्दछन् ।
अन्नपूर्ण
अन्नपूर्ण विश्वको दशौ अग्लो हिमाल हो । यसको उचाइ ८,०२१ मिटर (२६,५४५ फिट) रहेको छ । यो हिमालय समूह ५५ किलोमिटर (३४ माइल) लामो रहेको छ भने यसको पश्चिम भागलाई कालीगण्डकी खोँच त्यस्तै यसको उत्तर पूर्वलाई मस्र्याङखी नदी तथा यसको दक्षिण भागलाई पोखरा उपत्यकाले सीमाबद्ध गरेको छ । यस हिमालको समूहको पश्चिमी अन्तमा अन्नपूर्ण अभयारण्य भनिने उच्च बेसिन रहेको छ । यो पुरै हिमाल समूह तथा यस आसपासका ७,६२९ वर्ग किलोमिटर९२,९४६ वर्ग माइल० क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रद्धारा संरक्षित गरिएको छ । यो नेपालको सबैभन्दा पहिलो र ठुलो संरक्षण क्षेत्र हो ।
ऐतिहासिक रुपमा अन्नपूर्ण हिमाल आरोहण गर्नका लागि विश्वको सबैभन्दा खतरनाक हिमाल मध्ये एक हो । सन् २०१४ अक्टोबरमा हिमआँधी र हिमपहिरोले गर्दा अन्नपूर्ण हिमाल आरोहणमा गएका ३९ जनाको मृत्यु भएको थियो जुन नेपालको पदयात्रा इतिहासको सबैभन्दा ठुलो आपदा रहेको थियो ।
अन्न्नपूर्ण संरक्षण क्षेत्र एक प्रसिद्ध टे«किङ क्षेत्र हो । यात्रा थालनीको पहिलो दिन घोरेपानी, दोस्रो दिन पुनहिल,तेस्रो दिन छोमरुङ, चौथो दिन हिमालय,पाँचौ दिन माछापुच्छ्रे बेसक्याम्प हुदैँ अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । पदयात्रीले यात्रीलाई अन्न्नपूर्ण सर्किटको रुपमा पनि रुपान्तरण गर्न सकिन्छ । अन्नपूर्ण सर्किट अन्तर्गत प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, विश्वकै गहिरो गल्छी कालीगण्डकी, विश्वकै सर्वाधिक उचाइमा अवस्थित तिलिचो ताल,नेचुरल हट स्प्रिङ झिनु, पर्यटकी गाउँ घान्द्रुक, ५ हजार ४ सय मिटर उचाइको भन्जाङ थोराङलापास, नेपालकै लामो झरना रुपसे,पर्यटकीय क्षेत्र कागवेनी तथा जोमसोमको छटासमेत अनुभूति गर्न सकिन्छ ।
अटल स्वरुवमा चाँदीझै टल्किइरहेन अझै थुप्रै हिमालहरु नेपालमा रहेको छन् । तिनै हिमालहरु हाम्रो अस्तित्वका पहिचान हुन् अनि हुन स्वाभिमानका विश्वविद्यालय पनि । तिनै हिमालहरुले बचाएका छन् हाम्रो संस्कृति सभ्यता । तिनै हिमालति नै देखिन्छ सूर्यको पहिलो झुल्को पनि । प्रशस्तै सम्भावना हुदाँहुदै पनि उचित ्प्रचार प्रसार र अहिलेसम्म पनि विकासका पूर्वाधार नपुग्दाकयौँ ठाउँ र कयौँ हिमालहरु ओझेलमा परेका छन् । त्यहा न पर्यटन फस्टाउन सकेको छ न त सांस्कृतिक,ऐतिहासिक र पुरातात्विक क्षेत्रको महत्त्व नै दर्शाउन सकिएको छ । साथै, कोरोनाका कारण पनि वर्षेनी लाखौँ संख्यामा भित्रिने पर्यटकको संख्यामा पनि कमी आएको छ । प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण हाम्रो नेपालमा पर्यटकको पहुँच पुग्नसके र अझै उचित पूर्वाधारको विकास गर्न सकियो भने नेपाललाई विश्वसामु थप नयाँ रुपमा चिनाउन सकिन्थ्यो ।
प्रतिक्रिया