अजोड इन्स्योरेन्स र रिडी पावरको शेयर कारोबार फुकुवा,सोमबारबाट कारोबारमा

१ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अजोड इन्स्योरेन्स र रिडी पावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ। 

अब यी दुवै कम्पनीको शेयर भोलि (सोमबार)बाट कारोबारमा आउनेछन्। 

प्रभु इन्स्योरेन्ससँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेसँगै अजोड इन्स्योरेन्सको शेयर नेप्सेले गत साउन १ गतेदेखि रोक्का राखेको थियो। नेपाल धितोपत्र बोर्डले हालै ल्याएको मर्जरसम्बन्धी कार्यविधिमा यसअघि मर्जर प्रयोजनका लागि रोक्का रहेको शेयर कारोबार फुकुवा गर्न सकिने व्यवस्था गरेको छ। 

सोही व्यवस्थाबमोजिम अजोड इन्स्योरेन्सले नियामक निकायको स्वीकृतिमा शेयर कारोबार फुकुवा गर्न नेप्सेलाई आग्रह गरेको थियो। सोहीअनुसार नेप्सेले आधारभूत शेयरधनीहरुबाहेकका अन्य शेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो। 

उता कारोबार समयमा सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गरी कारोबार समयपछि सूचना पठाएको भन्दै नेप्सेले गत मंसिर ७ गते रिडी पावरमाथि कारबाही गर्दै शेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण पठाउन निर्देशन दिएको थियो। 

रिडी पावरले आज मंसिर १८ गते पत्र पठाउँदै अबदेखि यस्तो कमी–कमजोरी नगर्ने प्रतिबद्धता जनाएपछि सचेत गराउँदै कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ। 
 

१ बर्ष अगाडि

प्रतिक्रिया