काठमाडौँ- चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बीमाको दायरा (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) ४३.९८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पहुँच १३.१७ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बीमाको पहुँच ३०.७२ प्रतिशत जनसंख्यामा पुगेको थियो ।
म्यादी, लघु म्यादी जीवन बीमालेख सहित पनि बीमाको पहुँच ३९.८७ प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्षका यसै अवधिमा म्यादी, लघु म्यादी जीवन बीमालेख सहितको यस्तो पहुँच २८.६७ प्रतिशत मात्रै रहेको थियो ।
पछिल्लो समय बीमालेखमा वृद्धि भएपछि बीमाको दायरा विस्तार थप सहयोग पुगेको बीमा प्राधिकरणले जनाएको छ । मंसिरसम्ममा बैदेशिक रोजगार बीमालेख संख्या १०४.७८ प्रतिशत र जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमाले सहित) ४१.३८ प्रतिशतले बढेर १ करोड २७ लाख ३६ हजार ७४३ वटा बीमालेख जारी भएको बीमा प्राधिकरणको तथ्यांक छ । कुल जीवन बीमालेख संख्या पनि ४५.४० प्रतिशतले बढेर १ करोड ३९ लाख ८६ हजार ५०५ वटा पुगेको छ ।
जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको प्राधिकरणले जनाएको छ ।
यस्तै बैदेशिक रोजगार बीमालेख संख्या पनि १०४.७८ प्रतिशतले बढेर १२ लाख ४९ हजार ७६२ वटा बीमालेख जारी भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ६ लाख १० हजार २९४ वटा बैदेशिक रोजगार बीमालेख बिक्री गरेका थिए ।
निर्जीवन बीमा कम्पनीहरूको बीमालेख संख्या भने ८.०९ प्रतिशतले घटेर ११ लाख ४७ हजार २६४ वटामा सीमित भएको छ । गत वर्षको यहि अवधीमा निर्जीवन बीमा कम्पनीहरुले १२ लाख ४८ हजार १९२ वटा बीमालेख जारी गरेका थिए ।
जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क भने २।६४ प्रतिशतले बढेर ७५ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ७३ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
यस अवधिमा जीवन तथा निर्जीवनबीमा कम्पनीहरुका ३ हजार ३५८ वटा शाखा कार्यालयहरुमा ११ हजार ७१७ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
प्रतिक्रिया